आईसीसी टी–२० विश्वकपको सुपर एटमा आज श्रीलंका र न्युजिल्यान्ड भिड्दैछन्। खेल राति सवा ७ बजे कोलम्बोमा सुरु हुनेछ।
सुपर–८ समिकरणमा श्रीलंका अंकबिहीन छ भने न्युजिल्यान्डले एक अंक जोडेको छ। आफ्नै मैदानमा सुपर–८ को पहिलो खेलमा इंग्ल्यान्डसँग ५१ रनले पराजित भएको श्रीलंका पहिलो जितको खोजीमा छ।
पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ। दुवै देश जितको खोजीमा रहेको यो समूहबाट सेमिफाइनल पुग्न श्रीलंकाले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ।
आजको खेल गुमाए श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिने छ। न्युजिल्यान्डसमेत श्रीलंकालाई हराउँदै सेमिफाइनल यात्रा जीवित राख्न चाहन्छ। आयोजकसमेत रहेकाले आजको खेलमा श्रीलंका दबाबमा हुनेछ। मंगलबार राति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्याण्डले अन्तिम चारमा स्थान बनाइसकेको छ।