×

बेइजिङ । चीनले म्यानमारमा अवैध स्क्याम सञ्जाल सञ्चालन गर्ने कुख्यात ‘मिङ परिवार’का ११ सदस्यलाई मृत्युदण्ड दिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार झेजियाङ प्रान्तको अदालतले उनीहरूलाई हत्या, अवैध थुनुवा, ठगी तथा जुवा घर सञ्चालनजस्ता गम्भीर अपराधमा दोषी ठहर गर्दै सेप्टेम्बरमा सजाय सुनाएको थियो ।

मिङ परिवार म्यानमार–चीन सीमासँग जोडिएको लाउकाइङ सहरमा प्रभावशाली माफिया समूहका रूपमा परिचित थियो । उनीहरूको नियन्त्रणमा रहेको यो सहर केही वर्षमै क्यासिनो, रात्रि क्लब र रेड–लाइट क्षेत्रमा रूपान्तरण भएको थियो । गरिब र शान्त सहरलाई यस परिवारले अपराधले भरिएको केन्द्र बनाइएको अदालतले जनाएको छ ।

सन २०२३ मा म्यानमार सरकारले चीनको दबाबपछि उनीहरूलाई पक्राउ गरी चीन सुपुर्दगी गरेपछि यो स्क्याम साम्राज्यको पतन भएको हो । यी स्क्याम केन्द्रमा हजारौँ चिनियाँ नागरिकलाई जबरजस्ती काममा लगाएर विदेशमा रहेका मानिसहरूलाई ठग्न बाध्य पारिन्थ्यो ।

अदालतका अनुसार सन २०१५ देखि २०२३ सम्म मिङ परिवारले स्क्याम र जुवा कारोबारबाट १० अर्ब युआनभन्दा बढी आम्दानी गरेको थियो । उनीहरूको अपराधका कारण १४ चिनियाँ नागरिकको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । यस घटनाले सीमापार अपराधविरुद्ध चीनको कडा नीति झल्काएको छ । 

Back to top