वीरगञ्ज । भारतले ७७ औँ गणतन्त्र दिवस मनाउँदै छ। सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि १९५० जनवरी २६ मा नयाँ संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइन्छ ।
राष्ट्रपति द्रौपदी मुर्मुले झन्डोत्तोलन गरेसँगै सुरु भएको समारोहमा युरोपेली सङ्घका दुई शीर्ष नेताहरू उर्सुला भान डेर लेयन र एन्टेनियो कोस्टा मुख्य अतिथिको रूपमा सहभागी भएका छन्। परेडमा भारतीय सेनाका अत्याधुनिक मिसाइल प्रणाली, स्वदेशी प्रविधिमा निर्मित ट्याङ्क र तेजस लडाकु विमान प्रदर्शन गरिएको छ।
यो पटकको परेडमा नारी शक्तिलाई विशेष प्राथमिकता दिँदै सुरक्षा फौजका महिला दस्ताहरूले मार्चपास गरेका छन् । साथै, विभिन्न राज्यका झाँकीहरूले भारतको कला र संस्कृतिलाई झल्काएका छन् । कर्तव्यपथमा हजारौँको सङ्ख्यामा उपस्थित नागरिकहरूले उत्साहका साथ प्रदर्शनको अवलोकन गरिरहेका छन् ।
दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतबिचको ऐतिहासिक, बहुआयामिक र रणनीतिक सम्बन्ध भौगोलिक निकटताभन्दा पनि साझा सभ्यता, सांस्कृतिक सामीप्यता र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको स्पष्ट पारेका छन् ।
नेपालसँगको सम्बन्धलाई भारतको ‘छिमेकी पहिलो नीति’को केन्द्रीय स्तम्भका रूपमा चित्रण गर्दै राजदूत श्रीवास्तवले दुवै देशबिच सहकार्य र साझेदारीको लामो इतिहास रहेको उल्लेख गरेका छन् ।