×

नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम र सङ्ख्या पछिल्लो दुई महिनामा लगातार बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ फागुनको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकम तथा सङ्ख्यामा वृद्धि देखिएको हो।

चालु आर्थिक वर्षको सातौं महिना माघमा डिजिटल वालेट मार्फत ४१ अर्ब २१ करोड २० लाख रुपैयाँ भुक्तानी भएको थियो। यो रकम अघिल्लो महिना पौषको तुलनामा ६५ ‍करोड २० लाख रुपैयाँले बढेको हो।

यसैगरी माघबाट फागुनमा जाँदा पनि डिजिटल वालेटमार्फत् हुने कारोबार रकम ५२ करोड ७० लाख रुपैयाँले बढेर समग्र रकम ४१ अर्ब ७३ करोड ९० लाख मा पुगेको छ।

कारोबार सङ्ख्याका हिसाबले हेर्दा भने माघसम्म डिजिटल वालेटमार्फत् ३ करोड ३० लाख ८९ हजार २१० पटक कारोबार भएको थियो। यो आँकडा अघिल्लो महिना पौषको तुलनामा ८ लाख २४ हजार ८१० ले बढी हो।

यसैगरी माघदेखि फागुनसम्म आइपुग्दा पनि डिजिटल वालेटमार्फत् हुने कारोबार सङ्ख्या ४ लाख ६५ हजार २९ बढेर समग्रमा ३ करोड ३५ लाख ५४ हजार २३९ पुगेको प्रतिवेदनले देखाएको छ।

Back to top