×

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकामा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् र तस्करीमा प्रयोग गरिएका तीन वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले यी ट्याक्टरहरू नियन्त्रणमा लिएको हो।

प्रहरीले जानकारी दिएअनुसार, पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ स्थित जाते खोलामा बालुवा लोड गरिरहेको ना ७७ त १३३४ नम्बरको ट्याक्टर, वडा नम्बर १ पथलवाघाटबाट नम्बर नखुलेको आइचर ट्याक्टरमा बालुवा लोड गरिएको अवस्थामा, र वडा नम्बर ४ पथरैयाबाट ना ६ त १६७४ नम्बरको ढुंगा लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई बालुवा र ढुंगासहित ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिएका छन्।

Back to top