×

सांकेतिक तस्वीर

रौतहट। रौतहट जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले नक्कली नोट र लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रौतहटले दिएको जानकारीअनुसार चोरीको अभियोगमा पक्राउ परेका एक व्यक्तिको साथबाट नक्कली नेपाली नोट फेला परेको छ भने अर्का एक व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्।

परोहा नगरपालिका वडा नं. २, जिङगडवा टोल निवासी १९ वर्षीय अभिषेक कुमार यादवलाई प्रहरीले चोरीको अभियोगमा पक्राउ गरेको हो। आइतबार राति परोहा–४, हवारी चोकमा रहेको इशराइल मियाँको किराना पसलमा भएको चोरीको घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो। चोरीमा संलग्न रहेको आशंकामा अस्थायी प्रहरी पोष्ट लौकाहाबाट खटिएको टोलीले अभिषेकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार अभिषेकको साथबाट एक हजार दरका दुई थान नक्कली नोट फेला परेको छ। चोरीमा संलग्न अन्य दुई व्यक्ति भने फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, चन्द्रपुर नगरपालिका वडा नं. ४ निवासी २६ वर्षीय मनोज राईलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्क, गौरबाट खटिएको प्रहरी टोलीले दिउँसो चेकजाँच गर्दा मनोजको साथबाट ३० एम्पुल डाईजेपाम, ३० एम्पुल प्रोमेथाजाइन र ३० एम्पुल बुप्रोनाईफाइन गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार दुवै घटनाका थप अनुसन्धान भइरहेको छ।

Back to top