×

फाईल फोटो

बारा। बाराको कचोर्वा पुल नजिक सशस्त्र प्रहरीले भन्सार छली गरेर भारतबाट नेपाल भित्र्याइएका करिब ३ लाख रुपैयाँ बराबरका विस्फोटक पदार्थ (पटाका) बरामद गरेको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलको बीओपी गोलागन्जबाट खटिएको टोलीले कचोर्वा अरुवा पुल नजिक ती पटाकाहरू बरामद गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक केशव शर्माका अनुसार, प्रहरीले तस्करी भइरहेको ठाउँमा छापा मारेपछि तस्करहरूले बरामद सामान छाडेर फरार भएका थिए। बरामद पटाकाहरू तीन बोरा रहेको र तिनको मुल्य तीन लाख भन्दा बढी भएको बताइएको छ।

बरामद गरिएको विस्फोटक पदार्थलाई सिम्रौनगढ–६ का वार्ड अध्यक्ष नन्दकिशोर जयसवाल, उद्योग वाणिज्य संघ सिम्रौनगढका सदस्य राकिकिशोर सिंह, अरुण पाण्डेय, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रतिनिधि सुजित राउत लगायत स्थानीय संचारकर्मी र भद्रभलादमीहरूको उपस्थितिमा खाल्डो खनी पानी खन्याएर नष्ट गरिएको छ।

यस घटनापछि सीमा क्षेत्रमा सुरक्षाको निगरानी थप कडा पारिने बताइएको छ।

Back to top