×

वीरगञ्ज। वीरगञ्जबाट भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथको दर्शनका लागि प्रस्थान गरेका सात जना युवाहरूको यात्रा सफल भएको छ। सोमबार बिहान विधिवत रूपमा पूजा–पाठ गरेर युवा टोलीले केदारनाथको दर्शन सम्पन्न गरेका हुन्।

असोज २५ गते शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ निवासी श्याम बिनय साह कानुको नेतृत्वमा सात जनाको टोलीले केदारनाथको दर्शन गर्न यात्रा थालेको थियो। तीन दिनको यात्रापछि उनीहरू सोमबार बिहान केदारनाथमा सफलतापूर्वक पूजा सम्पन्न गर्न सकेका छन्।

यात्रामा रहेका ओमप्रकाश पटेलले केदारनाथलाई स्वर्गजस्तै सुन्दर, पवित्र र शान्तिको भूमि भएको अनुभव साझा गरे। टोलीको नेतृत्व गरिरहेका श्याम बिनय साहले यात्रा चुनौतीपूर्ण भए पनि बाबा भोलेनाथको कृपाले सबैले सकुशल दर्शन गर्न पाएको बताए। उनले भने, "११ घण्टाको पैदल यात्रामा विभिन्न किसिमका चुनौतीहरू सामना गर्नुपरेको थियो, तर केदारनाथ पुगेपछि हामीलाई घर फर्किन मन लागेको छैन। बाबा भोलेनाथले नबोलाएसम्म यहाँ आउन नसकिने भनाइ सत्य हो। हामी सौभाग्यशाली छौं कि बाबा केदारनाथको दर्शन गर्न पायौं।"

टोलीका अरुण तिवारीका अनुसार, अब उनीहरूको यात्रा बद्रीनाथको दर्शन गरेर सम्पन्न हुनेछ। यात्राका दौरान सबैले नेपालको उन्नति, प्रगति र दुई देशबीचको सम्बन्ध थप बलियो होस् भन्ने कामनासमेत गरेका छन्।

टोलीको बिदाइ नेकपा एमालेका सांसद प्रभु हजराले गरेका थिए। उनले नेपालको झण्डा र खादा ओढाएर शुभकामना व्यक्त गर्दै सफल यात्राको कामना गरेका थिए। यात्रामा श्याम बिनय साह, ओमप्रकाश पटेल, अरुण तिवारी, राजा बाबु कुशवाहा, राधेश्याम साह, आदित्य गिरि र अरुण रहेका छन्।

Back to top