×

बारा। बाराको महागढीमाई नगरपालिकास्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा विशेष पूजाका लागि प्रति व्यक्ति पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। हरेक पाँच वर्षमा लाग्ने पञ्चवर्षीय गढीमाई मेला यसवर्ष असोज १७ गते घटस्थापनाको दिनबाट औपचारिक रुपमा सुरु भएको छ भने पशु बलि मंसिर महिनामा तय गरिएको छ।

सोमबार महागढीमाई नगरपालिकाका मेयर तथा गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले पत्रकार सम्मेलन गर्दै मन्दिरमा विशेष पूजाका लागि यो शुल्क तोकिएको जानकारी गराए। मेयर यादवले मन्दिर सञ्चालन तथा विकास समिति, मेला सञ्चालन समिति र मन्दिरका पूजारीहरूको बैठकपछि यो निर्णय गरिएको स्पष्ट गरे।

अध्यक्ष यादवले विशेष पूजाका लागि तोकिएको शुल्कलाई लिएर केही व्यक्तिहरूले सामाजिक सञ्जालमा गढीमाई माता प्रतिको आस्थामाथि भ्रम फैलाएको भन्दै घोर आपत्ति जनाए। उनले भने, "माताको मूर्ति छुने गरी पूजापाठ गर्न इच्छुक भक्तजनहरूका लागि मात्रै यो शुल्क लागु गरिएको हो। सर्वसाधारण भक्तजनहरूका लागि भने कुनै शुल्क छैन।"

विशेष पूजा व्यवस्थापनका लागि शुल्क तोक्नु अनिवार्य भएको जनाउँदै उनले देशविदेशका अन्य मन्दिरहरूमा पनि यस्तो शुल्क प्रणाली लागू गरिएको उदाहरण दिए। मेयर यादवले थपे, "माताप्रति आस्था राख्नेहरूले स्वेच्छाले यो शुल्क तिर्नुहुनेछ। यसलाई अतिरञ्जित बनाउन आवश्यक छैन।"

साथै, सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्तिहरूविरुद्ध कानूनी कारबाहीको प्रक्रियामा जाने चेतावनी समेत यादवले दिएका छन्।

Back to top