×

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले एसपीको घुमुवा सादा पोशाकका प्रहरी भएको भन्दै विभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा परोहा नगरपालिका-२ का ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन्।

बैठाले स्थानीय व्यापारीहरूलाई आफू एसपीको घुमुवा प्रहरी भएको बताउँदै धाकधम्की दिएर रकम असुली गर्दै आएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीको कमान्डमा गएको प्रहरी टोलीले आइतबार साँझ बैठालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले चेकजाँच गर्ने क्रममा बैठाको साथबाट २२ पोका गाँजा (२०० ग्राम), १० थान नाइट्रोभेट ट्याब्लेट, १ बोतल अयअबक म्ह्, १ थान मोबाइल फोन, नगद १७ हजार ९३५ रुपैयाँ र प्रदेश २-०३-०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।

हाल बैठा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Back to top