×

वीरगञ्ज। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट प्रबन्धक विनोद दासले वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानको निरीक्षण भ्रमण सम्पन्न गरेका छन्। आगामी ‘एलिट कप’ अर्थात् ‘जय शाह राष्ट्रिय प्रतियोगिता’ को तयारीका क्रममा उनले मैदानको भौतिक संरचना, खेलाडीहरूको सुविधाहरू, र प्रतियोगिता व्यवस्थापन पक्षहरूको अवलोकन गरेका हुन्।

दासले भ्रमणका क्रममा मैदानको विकास कार्यलाई तीव्रता दिइरहेको टोलीसँग छलफल गरेका थिए। हाल बंगलादेशबाट आएका अनुभवी मैदान निर्माण विशेषज्ञहरूको टोलीले मैदान निर्माण कार्यमा जुटेको छ। मैदानको सुधार कार्यमा वीरगञ्ज महानगरपालिका लगायतका विभिन्न निकायहरूको पनि उल्लेखनीय सहयोग रहेको छ।

क्रिकेट एसोसिएसन अफ पर्साका अध्यक्ष मनिष सिंहका अनुसार राष्ट्रिय स्तरका चार टोलीहरू आगामी एलिट कपमा प्रतिस्पर्धा गर्न वीरगञ्ज आउँदैछन्। सिंहले वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानलाई उच्चस्तरीय बनाउन कार्य भइरहेको र यसका लागि सबै पक्षको समन्वयमा काम भइरहेको बताए।

यो प्रतियोगिता नेपालको प्रमुख क्रिकेट प्रतियोगितामध्ये एक हो, जहाँ देशभरका उत्कृष्ट टोलीहरूले सहभागिता जनाउनेछन्। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न स्थानीय आयोजक टोलीसँग मिलेर तयारीलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने उद्देश्य राखिएको छ। प्रतियोगिता आयोजनामा सहयोग पुर्‍याउने क्रिकेट एसोसिएसन अफ पर्साका उपाध्यक्ष मुर्तुजा हवारीलगायत अन्य स्थानीय प्रतिनिधिहरूले समेत तयारीमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

नारायणी क्रिकेट मैदानमा भइरहेको कामले यस वर्षको एलिट कपलाई अझ भव्य र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

Back to top