×

बीरगञ्ज । कालिकामाई गाउँपालिका, वडा नम्बर ५, बिरन्चीबर्वामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन सम्पन्न भएको छ। रु ५० लाखको लागतमा निर्माण गरिएको दुई तल्ले भवनको उद्घाटन पूर्व मन्त्री एवं प्रदेश सांसद सिंगासन साह कलवारले एक कार्यक्रमको बीचमा गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद कलवारले स्वास्थ्य चौकीको नयाँ भवनले स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने विश्वास व्यक्त गरे। उनले बिरन्चीबर्वा मात्र नभई छिमेकी पालिकाका सर्वसाधारणलाई पनि यस संस्थाबाट थप गुणस्तरीय सेवा प्राप्त हुने आशा व्यक्त गरे। सांसद कलवारले मेधश प्रदेशको मन्त्रीका रूपमा आफ्नो कार्यकालमा बिरन्चीबर्वाको स्वास्थ्य संस्थाका लागि बजेट बिनियोजन गराइएको उल्लेख गरे।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताका अनुसार, आर्थिक वर्ष २०७९/८० को बजेटबाट प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा २५-२५ लाख रुपैयाँ गरी कुल ५० लाख रुपैयाँ खर्चेर दुई तल्ले भवन निर्माण भएको हो। यस भवनमा चार कोठा रहेको छ जसमा बिरामीलाई भर्ना गर्ने व्यवस्था पनि गरिएको छ।

वडाध्यक्ष जयनारायण प्रसाद कुर्मीले स्वास्थ्य चौकीको नयाँ भवनले बिरामीको उपचारमा सहजता ल्याउने र ७ जना बिरामीलाई एकैपटक भर्ना गर्न सकिने सुविधा रहेको बताए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गुप्ता, कार्यपालिका सदस्य हरिओम साह कलवार, दिब्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेल, बृजकिशोर चौहान, स्थानीय जनप्रतिनिधिहरू, र स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो।

Back to top