×

वीरगञ्ज । सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शनिवार वीरगञ्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोलाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाले भेडाहा खोलामा बाढी आएपछि खोलाले आसपासका टोल र खेतीयोग्य जमिनमा क्षति पुर्‍याए पश्चात् मन्त्री यादवले शनिवार बाढी प्रभावित क्षेत्रमै पुगेर स्थलगत निरीक्षण गर्नुभएको हो ।

भेडाहा खोलाको अनियन्त्रित बहावले विशेष गरी इस्लामपुर क्षेत्र र आसपासका बस्तीहरूमा खेत कटान गर्दै ठूलो आर्थिक र भौतिक क्षति पुर्‍याएको छ ।

निरीक्षणका क्रममा मन्त्री यादवले स्थानीयसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्या पनि सुन्नुभयो । स्थानीय बासिन्दाले वर्षौँदेखि यो खोलाले कटान र बाढीको जोखिम पुर्‍याउँदै आएको गुनासो गर्नुभयो । उहाँहरूले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माण र खोलाको बहाव नियन्त्रण गर्न सरकारसँग आग्रह समेत गर्नुभयो ।

छलफलको क्रममा मन्त्री पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री यादवले आफू जनताको सुख–दुःखमा साथ रहँदै आएको र पीडित परिवारको राहत व्यवस्थाका लागि सङ्घीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्र मेरो निर्वाचन क्षेत्र भएकाले म यहाँका समस्याहरूलाई गम्भीरताका साथ लिन्छु । दीर्घकालीन समाधानका लागि म व्यक्तिगत रूपमा सरकारसँग पहल गर्छु ।”

उहाँले भेडाहा खोलाको अनियन्त्रित बहाव रोक्न तटबन्ध र अन्य पूर्वाधार निर्माणका लागि विशेष योजना ल्याउन आफूले प्रयास गर्ने वाचा समेत गर्नुभयो ।

स्थलगत निरीक्षणमा मन्त्री यादवसँगै पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी पनि सहभागी हुनुहुन्थ्यो । अन्सारीले यस क्षेत्रको समस्या समाधानका लागि स्थानीय निकाय र सङ्घीय सरकारबिच समन्वय आवश्यक रहेको बताउनुभयो ।

मन्त्री यादवले बाढी पीडितहरूको तत्काल राहतको व्यवस्था सुनिश्चित गर्ने र भविष्यमा यस्ता प्राकृतिक प्रकोपको पुनरावृत्ति रोक्नका लागि दीर्घकालीन योजना बनाउने तयारीमा रहेको बताउनुभयो । साथै, उहाँले संवेदनशील क्षेत्रहरूको नक्साङ्कन गरी बाढी नियन्त्रणका प्रभावकारी उपायहरू अवलम्बन गर्न प्राविधिक विशेषज्ञहरूसँग परामर्श गर्ने आश्वासन पनि दिनुभयो ।

स्थलगत निरीक्षणपछि स्थानीय बासिन्दाले मन्त्री यादवप्रति आभार प्रकट गर्दै खोलाबाट हुने क्षतिको समाधानका लागि ठोस कदम चालिने अपेक्षा व्यक्त गर्नुभयो ।

Back to top