×

बीरगञ्ज। पर्साको डोकैला बहुअरीस्थित गण्डक नहरमा मूर्ति सेलाउने क्रममा बेपत्ता भएका युवकको शव मृत अवस्थामा फेला परेको छ।

पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिवार दिउँसो डोकैला बहुअरीको बलिरामपुर गाउँ नजिक दुर्गा भवानीको मूर्ति सेलाउन नहरमा पसेका १८ वर्षीय अजितकुमार महत्तो धानुकको डुबेर मृत्यु भएको हो।

अजितकुमार महत्तो धानुक, बहुदरमाई नगरपालिका वडा नम्बर ४, डोकैला बहुअरीका निवासी शिवचन्द महत्तो धानुकका छोरा हुन्।

मूर्ति सेलाउने क्रममा साथीहरूसँगै नहरमा पसेका अजित अचानक बेपत्ता भएका थिए। खोजी कार्य सुरु भएको करिब एक घण्टापछि उनको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र अजितको शव पोष्टमार्टमका लागि बीरगञ्जको नारायणी अस्पतालमा पठाउने तयारी भइरहेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिएका छन्।

यस दुःखद घटनाले पर्सा जिल्लामा शोकको वातावरण छाएको छ।

Back to top