×

बीरगञ्ज । जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले केही नेताहरुले पार्टी परित्याग गरे पनि त्यसले पार्टीमा कुनै असर नपर्ने दाबी गरेका छन्। नेपाल पोष्ट डेली डटकममा जनमत पार्टीका केही नेता र कार्यकर्ताहरु जसपा नेपाल प्रवेश गरेको समाचार प्रकाशित भएपछि, संयोजक सर्राफले नेपाल पोष्ट डेली डटकमको सम्पादकीय विभागमा सम्पर्क गरी आफ्नो धारणा व्यक्त गरेका हुन्।

उनले पार्टी परित्याग गरेका नेताहरुलाई ‘नेता नै नभएको’ भन्दै, ती व्यक्तिहरुले पार्टीमा प्रवेश गरेदेखि नै कुनै ठोस काम नगरेको आरोप लगाए। साथै, उनीहरुले पार्टीको निर्णय तथा स्कुलरलाई बेवास्ता गरेको र पार्टीबाट निष्कासित हुने डरले पार्टी छाडेको उनले दावी गरे।

संयोजक सर्राफले पार्टी छाड्नेहरुको बहिर्गमनले जनमत पार्टी थप बलियो भएको र विभिन्न पार्टीहरु छाडेर जनमत पार्टीमा दिनहुँ सयौं नेता तथा कार्यकर्ता प्रवेश गरिरहेकोले पार्टीको उचाइ बढिरहेको बताए।

उनले नेताहरुको पार्टी परित्याग र प्रवेशलाई पुरानो शैलीको परिघटना भन्दै पार्टी थप सुदृढ हुँदै गएको दाबी गरे। पार्टी परित्याग गर्ने नेताहरुले पार्टीको लक्ष्य र सिद्धान्तप्रति इमानदार नभएको टिप्पणी गर्दै, पार्टी अझ शक्तिशाली भएको उनले स्पष्ट पारे।

Back to top