×

बीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विजयादशमीको अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले नेपालीहरूको महान् पर्व विजयादशमीले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताएका छन्।

विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुप्ताले पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै नयाँ ऊर्जा सञ्चार गर्ने बताए। “आनन्द, खुसी र एकताको पर्वले समाजमा सकारात्मक परिवर्तन ल्याउँदै हाम्रा सांस्कृतिक परम्परालाई जोगाउन सघाउ पुर्‍याउँछ,” उनले भने।

मन्त्री गुप्ताले दसैँ, बडादसैँ, दशहरा, दुर्गा पूजा र नवरात्रि जस्ता विभिन्न नामले चिनिने यो पर्व सत्यको विजयको प्रतीक रहेको उल्लेख गरे। उनले भने, “यो महापर्वले असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ। संसारमा अत्याचार गर्नेहरूको सधैँ पराजय निश्चित हुन्छ भने न्यायकर्ता र सदाचारीको विजय अवश्यम्भावी हुन्छ।”

कार्यक्रममा समाज कल्याण मन्त्री प्रमोद जैसवाल, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल, पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसियालगायतको सहभागिता रहेको थियो।

मन्त्री गुप्ताले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउने विश्वास व्यक्त गर्दै यस पर्वले आपसी शत्रुता बिर्सेर एकता, प्रेम र सद्भावनाको भावना प्रवर्द्धन गर्ने उल्लेख गरे।

Back to top