×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा जिल्ला सह-इन्चार्ज दीपक यादवले शुक्रवार वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रमबीच जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्नुभएको छ ।

नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दीपक यादवसहित उहाँ नेतृत्वको टोलीलाई फूलमाला र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

मन्त्री प्रदीप यादवले दीपक यादवको आगमनलाई पार्टीको लागि ऊर्जा थप्ने अवसरका रूपमा स्वागत गर्दै भन्नुभयो, "दीपक यादवजस्तो कर्मठ नेताको प्रवेशले पार्टीलाई थप सशक्त र संगठित बनाउने छ । मधेसका जनताको हकअधिकारको लागि हामी सबै एकजुट भएर अघि बढ्नेछौं । उहाँको सहभागिताले पार्टीलाई मात्र नभई मधेसको समृद्धिमा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ ।"

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि दीपक यादवको जसपामा प्रवेशलाई संगठनको सशक्तीकरणको महत्वपूर्ण कदमको रूपमा लिनुभयो । उहाँले भन्नुभयो, "दीपक यादवजस्तो संघर्षशील नेता पार्टीमा सामेल हुनु भनेको हाम्रो संगठनलाई बलियो बनाउने हो । उहाँको आगमनले पार्टीमा नयाँ ऊर्जा थपिएको छ । अब हामी सबै मिलेर मधेसको समृद्धि, विकास, र जनताको अधिकारका लागि दृढताका साथ अघि बढ्नेछौं ।"

मेयर सिंहले मधेसको समृद्धि र जनताको हकहितको सुनिश्चितताका लागि संगठनलाई एकताबद्ध र सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, "दीपक यादवको प्रवेशले हाम्रो अभियानलाई बल प्रदान गर्नेछ ।"

दीपक यादवले आफ्नो जसपा नेपाल परित्याग गरी जसपामा प्रवेश गर्नुको कारण प्रस्ट्याउँदै भन्नुभयो, "म लामो समयदेखि जसपा नेपालमा आबद्ध थिएँ, तर पार्टीले मधेसका जनताको माग र समस्यालाई सम्बोधन गर्न असफल रह्यो । पार्टीमा नेतृत्वको गलत राजनीतिक पद्धति र दीर्घकालीन विकासको अभावका कारण मैले पार्टी छोड्ने निर्णय गरें ।" उहाँले थप्नुभयो, "अब जसपामा रहेर म मधेसका जनताको हकअधिकार र समृद्धिको लागि निरन्तर संघर्ष गर्नेछु ।"

दीपक यादव मधेसका पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु गद्दीका स्वकीय सचिवका रूपमा काम गरिसक्नु भएको छ । उहाँले गत स्थानीय तहको निर्वाचनमा पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेद्वार समेत हुनुहुन्थ्यो । 

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरी, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार, बहुदरमाई नगरपालिकाका मेयर एवम् जसपा पर्सा जिल्ला संयोजक सिंहासन साह तेली, जसपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष इश्वर चन्द्र यादव, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलम, जसपाका नेताहरू तबरेज अहमद, शिवजी सोनी, असलम आलम, साहेब खानलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उपस्थित नेताहरूले दीपक यादवको जसपामा प्रवेशलाई संगठनको सुदृढीकरणको संकेतको रूपमा स्वागत गर्नुभयो ।

पार्टीका अन्य नेताहरूले पनि दीपक यादवको सहभागिताले मधेसको राजनीतिक र सामाजिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरूले मधेसका मुद्दा, जनताको अधिकार, र समृद्धिको लागि जसपा नेतृत्वले अब नयाँ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Back to top