×

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले ध्वनि प्रदूषण नियन्त्रणका लागि जारी गरेको निर्देशनको पालना दशैंको अवसरमा भएका दुर्गापूजामा भएको छैन। धार्मिक, वैवाहिक तथा अन्य कार्यक्रमहरूमा डिजे, साउन्ड बक्स, र लाउडस्पीकर जस्ता उपकरणहरू उच्च आवाजमा प्रयोग नगर्न सूचित गरे पनि पर्साका विभिन्न ठाउँमा दुर्गापूजाका पण्डालमा नियमको उल्लङ्घन देखिएको छ।

खासगरी पर्साका ग्रामीण क्षेत्रमा दुर्गापूजाका केही पण्डालमा मात्र यो नियमको पालना भएको देखिन्छ, तर अधिकांश ठाउँमा चर्को आवाजमा लाउडस्पीकरको प्रयोग भइरहेको छ। वीरगञ्ज महानगरपालिकाभित्रका मन्दिरहरूमा भने गत वर्षको तुलनामा यस वर्ष ध्वनि प्रदूषण केही कम भएको पाइएको छ। मन्दिरमा भजनकीर्तन र पूजापाठका कार्यहरू लाउडस्पीकरबाट सानो आवाजमा गरिँदैछ, जसले प्रशासनको निर्देशनको केही हदसम्म पालना भएको देखाउँछ।

तर, दुर्गापूजाका पण्डालहरूमा भने ध्वनि प्रदूषण उच्च छ। घटस्थापनाको दिन कलशयात्रामा र बुधवार डोलीयात्रामा चर्को आवाजमा डिजेको प्रयोग भएको थियो। यसका साथै, डोलीयात्राका निम्ति टोलहरूमा गरिने बेल निम्तामा पनि चर्को स्वरमा डिजेको प्रयोग भएको छ।

ध्वनि प्रदूषण नियन्त्रणको नियमको उल्लङ्घन भइरहँदा पनि स्थानीय प्रशासन मूकदर्शक बनेको छ। अहिलेसम्म पर्सा जिल्लामा डिजे प्रयोग गरेको कारण कुनै कारबाही नभएको पाइएको छ। यसले गर्दा स्थानीय बासिन्दा असन्तुष्ट छन् र प्रशासनको सक्रियताको अभावप्रति आलोचना गरिरहेका छन्।

ध्वनि प्रदूषण नियन्त्रणको लागि प्रशासनले जारी गरेको निर्देशनको प्रभावकारिता अब प्रश्न उठ्न थालेको छ, र यो समस्या समाधान गर्न थप कडा कदम चाल्नुपर्ने आवश्यकता महसुस गरिएको छ।

Back to top