×

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशनपछि पार्टी गम्भीर आन्तरिक संकटमा फसेको छ। पार्टीभित्रका असन्तुष्ट नेताहरूले विधिपद्धतिको गम्भीर उल्लंघन भएको भन्दै केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन्। असन्तुष्ट समूहले पार्टीमा नेतृत्वले मनोनीत कमिटीमार्फत पदाधिकारी र पोलिटब्युरोको निर्वाचन गराएको भन्दै विद्रोहको चेतावनीसमेत दिएको छ।

असन्तुष्ट नेताहरूको यो मागपछि शीर्ष नेताहरूले आन्तरिक छलफललाई तीव्रता दिँदै पार्टीलाई फुटबाट जोगाउन प्रयास गरिरहेका छन्। असन्तुष्ट पक्षले महाधिवेशनमा पारित २९९ सदस्यीय केन्द्रीय कमिटीलाई चुनौती दिँदै हालको ३४४ सदस्यीय कमिटीलाई अवैध घोषित गरेका छन्।

अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले पार्टी फुट्न सक्ने खतरा भएको भन्दै पार्टीभित्रका समस्याहरू समाधान गर्न आन्तरिक छलफल सुरु गरेका छन्। सोमबार एक सयभन्दा बढी असन्तुष्ट नेताहरूले अध्यक्ष नेपाललाई भेटी पार्टीभित्र विधि र पद्धति बसाल्न नसकिए ‘असन्तुष्टिको विस्फोट’ हुने चेतावनी दिएका छन्।

असन्तुष्ट नेताहरूले दुई बुँदे माग राख्दै महाधिवेशनको म्यान्डेटविपरीत भएका कामहरू खारेज गर्न र पार्टीको आन्तरिक एकता जोगाउन केन्द्रीय कमिटीको बैठक तत्काल बोलाउन आग्रह गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार पार्टी विभाजनको सम्भावना उच्च छ। संसद्को अधिवेशन अन्त्य भएकाले सरकारले अध्यादेश ल्याएर एकीकृत समाजवादीलाई विभाजन गर्न सक्ने सम्भावना छ। तर, कांग्रेस सभापति शेरबहादुर देउवा अध्यादेश ल्याउने विषयमा असहमति देखाइरहेका छन्।

पार्टीका नेताहरूले विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका बेला, भविष्यमा पार्टीको आन्तरिक संकट थप गहिरिने संकेत देखिएको छ।

Back to top