×

वीरगञ्ज । सीमावर्ती सहर वीरगञ्जमा दशैंको रौनक देखिएको छ, तर यसपटक व्यापार अपेक्षाकृत कम भएको व्यापारीहरूले गुनासो गरेका छन्। दशैंको अवसरमा शहरका सडकमा पसल थापेर बसेका व्यवसायीहरू उत्साहित देखिए पनि ग्राहकको कमीले निराशा छाएको छ।

दशैंको अष्टमी तिथिमा लाग्ने मेलाका लागि घण्टाघरदेखि आदर्शनगरसम्मका सडकहरूमा लत्ताकपडा, जुत्ताचप्पल, खेलौना, खाद्यान्न र पूजा सामग्री विक्री गर्न पसल राखिएको छ। तर, विक्रेताहरूका अनुसार अघिल्ला वर्षहरूको तुलनामा व्यापार निकै कम भएको छ। बारा भलुहीका रामप्रवेश साहले गतवर्ष दिनमा ५०–६० हजार रुपैयाँको जुत्ता चप्पल बिक्री गरेको बताउँछन्, तर यसवर्ष त्यो अंक ५ हजार रुपैयाँसम्म झरेको छ। साहले भने, “गतवर्ष करिब ४ लाख रुपैयाँको व्यापार भएको थियो, तर यसपटक घाटामा जाने डर छ।”

विगतका वर्षहरूमा घण्टाघरमा पसल राखेर राम्रो व्यापार गरेका शम्भु कुशवाहले पनि यो वर्ष व्यापारमा गिरावट भएको अनुभव गरेका छन्। कुशवाहले नवमीको दिन पर्साको बिन्दवासिनीमा लाग्ने मेलामा जाने तयारी गरेका छन्।

व्यवसायीहरूका अनुसार यो अवस्था कोरोना महामारीपछि निरन्तर झरिरहेको छ। दीपक सर्राफ, जो वीरगञ्ज माईस्थानमा घडी र विद्युतीय सामग्रीको व्यापार गर्छन्, भन्छन्, “पसलमा ग्राहक छिर्दैनन्, छिरे पनि किनमेलका लागि सीमापारि भारतीय बजार रक्सौल जान्छन्।”

भारतीय बजारमा दैनिक उपभोग्य सामग्री तथा अन्य सामानहरू सस्तो पाइने कारण नेपाली उपभोक्ताहरू भारतीय बजारतिर आकर्षित भएका छन्। व्यापारमा यस गिरावटको एउटा प्रमुख कारण अवैध आयात हो। सरकारी अधिकारीहरूको अनुमान अनुसार भारतबाट हुने कुल आयातको ५० प्रतिशतभन्दा बढी अवैध माध्यमबाट भित्रिरहेको छ।

व्यवसायी नवनीत अग्रवालका अनुसार भारतले आम उपभोग्य वस्तुमा न्यून कर लिएको छ, जसका कारण त्यहाँका बजारमा सामान सस्तो पाइन्छ। "भारतमा ५ प्रतिशत वस्तु तथा सेवा कर छ, जबकि नेपालमा १३ प्रतिशत मूल्यअभिवृद्धि करसहित उच्च भन्सार महशुल रहेको छ," अग्रवालले भने। यही कारणले गर्दा नेपाली उपभोक्ता भारतीय बजारमा आकर्षित भएका छन्, जसले गर्दा सीमावर्ती क्षेत्रका नेपाली व्यापारीहरूले घाटा व्यहोर्नु परेको छ।

Back to top