×

वीरगञ्ज । बाढीपहिरोको कारण क्षतविक्षत बनेको बीपी राजमार्ग १४ दिनपछि एकतर्फी रूपमा पुनः सञ्चालनमा आएको छ। सडक विभाग र स्थानीय पालिकाहरूले रातदिन काम गरेर यस राजमार्गलाई सञ्चालनमा ल्याएका हुन्। रोशी गाउँपालिका–९ स्थित मंगलटारको बोक्सीकुना क्षेत्रमा डाइभर्सन निर्माण गरेपछि बिहीबार बिहान ८ बजेबाट राजमार्ग खुलेको हो।

बाढीपहिरोले असोज ११ र १२ गते चौकीडाडादेखि नेपालथोकसम्मको सडक खण्ड अवरुद्ध बनाएको थियो। सडक विभाग र स्थानीय पालिकाहरूको प्रयासले अहिले कतिपय ठाउँमा एकतर्फी र केही क्षेत्रमा दुईतर्फी यातायात सञ्चालन भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए।

अध्यक्ष लामाका अनुसार, धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा अस्थायी सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडकको मर्मत गरेर यातायातलाई सञ्चालनमा ल्याइएको छ। काठमाडौँ र पूर्वी नेपाललाई जोड्ने यो राजमार्ग अत्यधिक महत्त्वपूर्ण छ, जहाँ दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने गर्थे।

दशैं पर्वको अवसरमा यात्रुहरूका लागि राजमार्ग खुल्नु विशेष महत्त्वपूर्ण मानिएको छ। दशैंमा टीका लगाउन गएका र काठमाडौं फर्किन चाहने यात्रुहरू अब सजिलैसँग बीपी राजमार्गको प्रयोग गर्न सक्ने भएका छन्।

Back to top