×

रौतहट ।  घनघोर वर्षा संगै आएको बाढीका कारण प्रभावित तथा विस्थापित भएका ४८० परिवारलाई राजदेवी नगरपालिकाले राहत सामग्री वितरण गरेको छ। हिजो गौर नर्सिंग क्याम्पसमा आयोजित कार्यक्रममा असल छिमेकी कास्की पोखराको सहयोगमा सुत्केरी महिला तथा बाढीपीडित परिवारलाई राहत सामग्री प्रदान गरियो।

राजदेवी नगरपालिका वडानम्बर १, ३, ५ का सुत्केरी महिलाहरू र वडानम्बर ६ तथा ९ का बाढीपीडित परिवारलाई राहत प्रदान गरिएको थियो। राहत सामग्रीमा सुत्केरी तथा गर्भवती महिलाहरूका लागि उलेन टोपी, सल, बेबी ब्लैंकेट, घिउ, जवाइन, मेथी, खानेतेल, साबुनलगायतका आवश्यक वस्तुहरू समावेश गरिएका थिए। २३० जना सुत्केरी महिलाहरूलाई यी सामग्री वितरण गरियो।

त्यसैगरी, बाढीपीडित २५० परिवारलाई चामल, दाल, नुन, चिउरा, चिनी, स्वायबीन, चियापत्ती, टूथपेस्ट, टूथब्रश, सेनेटरी प्याड, बलैंकेट, त्रिपाल, प्लास्टिक म्याटजस्ता राहत सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिए।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भिखारी प्रसाद यादवले बाढीबाट सर्वाधिक क्षति किसानहरूले व्यहोरेको भन्दै, किसानहरूको उचित मुआब्जाका लागि प्रतिबद्धता जनाए। साथै, स्थानीय संघ-संस्थाहरूको सहयोगमा सबै प्रभावित परिवारलाई राहत व्यवस्थापन गरिने जानकारी दिए। नगरपालिकाले कृषि, भौतिक पूर्वाधार, माछा र तरकारी खेतीमा भएको क्षतिको विवरण संकलन गरिरहेको र जसरी भए पनि प्रभावित परिवारलाई राहत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा उपप्रमुख राज कुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, समाजसेवी नवीन सिंह र पवन साह लगायतको सहभागिता रहेको थियो। नगर प्रमुख यादवले असल छिमेकी नेपाललाई बाढीपीडितहरूको दुःखमा निरन्तर सहयोग गर्न आग्रह गरे।

Back to top