×

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाले किसानहरुलाई व्यवसायिक तरकारी खेतीतर्फ प्रोत्साहन गर्न विशेष पहल थालेको छ । गाउँपालिकाले टनेलसहितको नर्सरीमा उत्पादन गरिएका विभिन्न प्रकारका तरकारीका बेर्ना मंगलबारदेखि वितरण सुरु गरेको छ । दुई दिनको अवधिमा २ सय ५० भन्दा बढी किसानहरुलाई बेर्ना वितरण गरिसकिएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले जानकारी दिए । यो कार्यक्रमले किसानहरुलाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने अध्यक्ष चौधरीको विश्वास छ ।

गाउँपालिकाको कृषि विकास शाखाले वडा नम्बर ४, दखिनवारी सुगौली टोलमा रहेको करिब साढे दुई कठ्ठा जग्गामा टनेलसहितको नर्सरी स्थापना गरेको छ । यस नर्सरीमा काउली, गोलभेंडा, भेन्टा, हरियो खुर्सानी लगायतका तरकारीका बेर्ना उत्पादन गरिएको छ । कृषि विकास शाखाकी प्रमुख सिमा चौधरीका अनुसार, यस किसिमको बेर्ना उत्पादन तथा वितरणले किसानहरुलाई गुणस्तरीय बीउ र आधुनिक प्रविधिको पहुँचमा पुर्याउनेछ ।

यसअघि गाउँपालिकाले किसानहरुलाई बीउ प्याकेटको रूपमा हरियो तरकारीको बीउ वितरण गर्दै आएको थियो, तर उक्त विधि प्रभावकारी नभएको चौधरीले बताइन् । यस पटक भने, नर्सरीमै बेर्ना उत्पादन गरेर किसानहरुलाई सिधै वितरण गर्दा राम्रो परिणाम आउने अपेक्षा गरिएको छ ।

किसानलाई व्यवसायिक खेतीमा आकर्षित गर्ने प्रयास
गाउँपालिका अध्यक्ष दिनेश चौधरीले किसानलाई व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने, “बजारमा हरियो तरकारीको माग बढ्दो छ, र किसानले तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सक्छन् । त्यसैले, गाउँपालिकाले नर्सरीमा बेर्ना उत्पादन गरेर वितरण गर्ने निर्णय गरेको हो । यो कदमले किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास छ ।”

चौधरीले आगामी माघ महिनामा हिउँदे तरकारीको बेर्ना उत्पादन गरेर पुनः किसानलाई वितरण गर्ने योजना रहेको पनि बताए । “हामीले हिउँदे तरकारीको उत्पादनका लागि योजना बनाइसकेका छौं, र यसका लागि आवश्यक तयारी थालिसकेका छौं”, उनले भने । 

गाउँपालिकाका उपाध्यक्ष ममता महतोले पनि यस कार्यक्रमप्रति उत्साह व्यक्त गर्दै किसानलाई व्यावसायिक रूपमा सक्षम बनाउन यो कार्यक्रम महत्वपूर्ण हुने बताइन् । “किसानहरुको आर्थिक विकास र स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्नका लागि पालिकाले यो कदम उठाएको हो । नर्सरीबाट गुणस्तरीय बेर्ना पाउनु किसानको लागि ठूलो उपलब्धि हो”, महतोले भनिन् ।

टनेल प्रविधिको प्रयोग गरेर तयार पारिएको नर्सरीले किसानहरुलाई गुणस्तरीय तरकारीको बेर्ना सहजै उपलब्ध गराउन सहयोग पुगेको उनको भनाई छ । यस प्रविधिबाट उत्पादन भएका बेर्नाले किसानलाई रोगप्रतिरोधात्मक क्षमता भएको बेर्ना उपलब्ध गराउने भएकाले उत्पादनको गुणस्तरलाई पनि सुधार गर्न सकिने उनले बताइन् । 

किसानहरुलाई व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित गर्दै उनीहरुको आर्थिक अवस्था सुधार गर्ने अघिप्रायले यो कार्यक्रम सुरु गरिएको उपाधयक्ष महतोको भनाई छ । 
 

Back to top