×

वीरगन्ज। असोज १९-२०, २०८१: वीरगन्ज महानगरपालिका वडा नम्बर १७ (अलौ) मा पानीको निकासको विषयलाई लिएर स्थानीय अगुवाहरू र महानगरका मेयर राजेशमान सिंहबीच विवाद उत्पन्न भएको छ। यस विवादका क्रममा कुटपिट समेत भएको खबरले जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

जनमत पार्टीले सामाजिक द्वन्द तथा विवाद समाधानमा सदैव सहकार्य र समन्वयको पक्षपाती रहेको बताउँदै, यस्तो द्वन्दले चाडपर्वको माहोलमा समाजलाई तोड्ने र आपसी सद्भावमा खलल पुर्‍याउने हुँदा सबैलाई संयमित र समन्वयकारी हुन अपिल गरेको छ।

पार्टीले कुनै पनि समस्या समाधानमा हिंसा र अराजकता अवलम्बन नगर्न र अहंकारलाई त्यागेर अहिंसात्मक तथा शान्तिपूर्ण मार्गको अनुसरण गर्न आग्रह गरेको छ। "राजनीतिक वा कुनै पनि अन्य विषयमा हिंसा समाधानको उपाय होइन," जनमत पार्टीले बताएको छ।

कानुनी राज्यमा कसैलाई पनि हिंसा र अपराध गर्ने छुट नभएको भन्दै, जनमत पार्टीले सत्य तथ्यको छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ। साथै, विवाद समाधानका लागि विज्ञहरूको सहभागितामा सर्वपक्षीय बैठकको आह्वान गर्न समेत माग गरेको छ।

जनमत पार्टीले बिज्ञप्ति मार्फत भनेको छ, "पानीको निकासको समस्या समाधान गर्न व्यावहारिक र वैज्ञानिक उपाय अवलम्बन गर्न जरुरी छ। वार्ता, सहमति र संवाद नै समाधानको मुख्य साधन भएकाले यसको पहलकदमी लिई समस्या समाधान गर्न जनमत पार्टी सदैव तयार रहेको छ।"

Back to top