×

भारतको केन्द्रीय बैङ्कले बुधबार ब्याज दरलाई स्थिर राख्ने निर्णय सार्वजनिक गरेको छ। विश्वको पाँचौं ठूलो अर्थ व्यवस्थामा वृद्धि मध्यम रहेको अवस्थामा बैङ्कले भविष्यमा ब्याजदर कटौतीको लागि ढोका खुला छोडेको छ।

भारतीय रिजर्भ बैङ्क अफ इन्डिया आरबीआईले भनेको छ, “ब्याजदरमा महत्त्वपूर्ण मानिने ‘रिपो रेट’ अर्थात् केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कबाट ऋणमा तिर्ने अल्पकालीन ब्याजमा लगातार दशौं बैठकमा पनि ६।५ प्रतिशतमा अपरिवर्तित रहनेछ।”

केन्द्रीय बैङ्कका गभर्नर शक्तिकान्त दासले मुद्रास्फीतिलाई आफ्नो लक्ष्यसँग जोड्न बैङ्क ‘स्पष्ट रूपमा केन्द्रित’ रहने र अझै पनि वृद्धिलाई समर्थन गर्ने बताएका छन्।

उनले भने, “धेरै प्रयासका साथ मुद्रास्फीतिको दरलाई स्थिरमा ल्याइएको छ।” “हामीले ब्याजदर वृद्धि गर्दा धेरै होसियार हुनुपर्छ किनकि मुद्रास्फीति दर फेरि एक्कासि उच्च हुन सक्छ,” दासले भने।

अमेरिकी फेडरल रिजर्भसहित विश्वका प्रमुख केन्द्रीय बैङ्कहरूले मुद्रास्फीतिमा कमी आएसँगै विश्वव्यापी सहजता चक्र सुरु गरेका छन्, जसले गत महिना चार वर्षमा पहिलोपटक ब्याजदर घटाएको थियो।

भारतको खुद्रा मुद्रास्फीति अगस्टमा ३.६५ प्रतिशतमा कायम भएको थियो, जुन जुलाईमा रेकर्ड गरिएको ३.५४ प्रतिशतको तुलनामा केही बढी हो। मध्यपूर्वमा जारी द्वन्द्वले भविष्यमा उल्टो जोखिम निम्त्याउन सक्ने विश्लेषकहरूको बुझाइ छ।

आरबीआईको मौद्रिक नीति समितिले भने आफ्नो नीतिगत अडानलाई पहिलेको स्थितिबाट ‘तटस्थ’ मा परिवर्तन गर्ने घोषणा गरेको छ। यसले भविष्यमा दर कटौतीको आधार तयार गरेको छ।

भारतीय केन्द्रीय बैङ्कको यो निर्णय आर्थिक वृद्धिमा सुस्तताको प्रारम्भिक सङ्केतपछि आएको हो।

मार्चदेखि जुनसम्मको त्रैमासिकमा भारतको आर्थिक वृद्धि दर ६.७ प्रतिशत रहेको छ भने सरकारी खर्चमा कमी र केही आर्थिक सूचकहरूले शहरी उपभोक्ताको भावनामा सुस्तता देखाएका छन्।

तथ्याङ्कले भारतलाई विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्रको सूचीमा राखेको छ, तर यो पाँच त्रैमासिकमा वृद्धि दरमा सामान्य सुस्तता देखिएको छ। यो वृद्धि दर केन्द्रीय बैङ्कको ७.१ प्रतिशतको अनुमानभन्दा कम हो।

Back to top