×

वीरगञ्ज । जेरी (जुलेबी) तराई मधेसमा रुचाइएको मिठाइ हो । जुन अरु मिठाइको तुलनामा सस्तो र सर्वसुलभ पनि हुन्छ । मधेसमा त्यस्तो कुनै पर्व र मेला छैन जहाँ जेरी नपाकेको होस् । मेला जाने जोकोही थोरै भएपनि जेरी किनेर खान्छन् अनि घर फर्किँदा कोशेलीका रुपमा जेरी लिएर जान्छन् । वीरगंजमा यसपाली पनि लागेको दसैं मेलामा जेरी मुख्य आकर्षण बनेको छ । दशैंको अवसरमा वीरगञ्जमा हरेक वर्ष लाग्ने मेलामा सडकका फुटपाथ र छेउछाउमा जेरीका दर्जनौं पसल प्रशस्त भेटिन्छन् । 

आकर्षक तरिकाले बनाईने जेरीप्रति आम मानिसको आकर्षण पनि बढिरहेको देखिन्छ । ठाँउ ठाँउबाट मेलामा ओहोरदोहोर गर्नेहरु जेरी हेरेर मुख रसाउने गर्छन् । वीरगञ्जमा लाग्ने मेलाको प्रमुख आकर्षण जेरीपसल रहँदै आएको छ र यस वर्ष पनि जेरी पसल नै सबैभन्दा बढी देखिएको छ । वीरगञ्जको घण्टाघर चोकदेखि माइस्थान चोक, महवीर स्थान, अलखीया मठहुँदै वीर्ता चोकसम्म र माइस्थान चोकदेखि गीता मन्दिरसम्मको सडक छेउछाउमा जेरीका झण्डै सयभन्दा बढी पसल छन् । 

हरेक वर्ष लाग्ने वीरगञ्जमा लाग्दै आएको दशै मेलामा जेरी बिक्री गर्न सीमावर्ती भारतीय र नेपालको पर्सा, बारा र रौतहटको ग्रामीण भेगबाट पनि व्यापारीहरु आउने गरेका छन् । बिगत ५ वर्षदेखि वीरगञ्जमा जेरीको पसल थाप्दै आएका सुरेश मुखियाका अनुसार गत वर्षको तुलनामा यसपाली जेरीको माग बढेको छ ।  पोहोर पनि राम्रै व्यापार भएको र एक हप्ताको मेलामा ४० हजार मुनाफा समेत भएको उनी बताउँछन् । मेला हेर्न आउने जोकोही पनि जेरी नखाएर घर फर्किदैनन् । आफुले खानुका साथै घरमा आफन्त वा साथिभाईका लागि किनेर लैजाने गरेका छन् । 

गत वर्षको तुलनामा जेरी प्रतिकिलोमा ४० रुपैयाँले बढेर दुई सय रुपैयाँमा बिक्री भइरहेको छ । गत बर्ष १ सय ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको जेरी रिफाईन तेल र चिनीको मुल्यबृद्धी भएका कारण मुल्य बढाउनु परेको हो । गत बर्ष रिफाईन तेल प्रतिलिटर १ सय ६० रुपैयाँ थियो भने अहिले ३ सय २० पुगेको र चिनी ७१ बाट ८२ रुपैयाँ प्रतिकिलो भएका कारण जेरीको मुल्य बढाउनु परेको पसलेहरुले बताउँछन् । 

जेरीप्रतिको आकर्षण एकातिर छ भने अर्काेतिर सडक छेउमा बिक्री भइरहेको जेरीमा धुलो तथा फोहोर परिरहेको हुँदा सजगता अपनाउनुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् । जेरी बनाउँदा प्रयोग गरिने तेल पटकपटक प्रयोग गर्ने गरेको पनि पाइन्छ, जसले गर्दा शरिरको पाचन प्रणालीमा समस्या देखिन सक्ने नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिंहले बताए । 

उनकाअनुसार खुला ठाउँमा पकाउँदा धुलोसँगै आँखाले नदेखिने पनि विभिन्न किसिमका पदार्थहरु मिसिने जोखिम हुन्छ । यसका साथै जेरीमा प्रयोग गरिने रंग पनि अखाद्य हुने गरेको उनले बताए । एकपटक खाँदैमा ठुलै स्वास्थ्य जोखिम नभएपनि पाचन प्रणालीमा असर गर्ने र बिस्तारै स्वास्थ्यमा समस्या देखिन सक्ने डा. सिंहको भनाई छ । 

Back to top