×

फोटो फेसबुक पेजबाट

वीरगञ्ज, पर्सा । नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जमा अवस्थित गहवामाई मन्दिर, जसलाई 'माईस्थान मन्दिर' पनि भनिन्छ, धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा प्रख्यात छ।

नेपालको सिमाना भारतबाट करिब पाँच किलोमिटरको दुरीमा रहेको यो मन्दिर कलात्मक संरचना र भव्य धार्मिक इतिहासले सम्पन्न छ। भोजपुरी भाषी क्षेत्रमा आमालाई 'माई' भनेर सम्बोधन गरिन्छ, त्यसैले मन्दिरको नाम पनि माईस्थान राखिएको हो।

मन्दिरका मुख्य पूजारी राधेश्याम प्रसाद उपाध्यायका अनुसार, गहवामाई मन्दिरको स्थापना एक भक्तको सपनामा देवीको दर्शन भएपछि भएको हो। भक्तले सपनामा देखेको कुरा विपनामा साकार भएको भनाइ छ।

'वीरगञ्जकै भिस्वाको डाँडाबाट फालेको तीर जहाँ गएर गड्छ, म त्यही हुन्छु,' देवीले भनी दिएको सपनालाई भक्तले विश्वास गरेर उक्त ठाउँमा पूजा-अर्चना सुरु गरेका थिए। यही ठाउँ अहिले गहवामाई मन्दिरको रूपमा विकसित भएको हो।

मन्दिरको महत्त्व दशैंको समयमा झनै बढ्छ। मन्दिरमा विशेष रूपमा नवदुर्गाको पूजा गरिन्छ। दशैंको नवरात्रमा भक्तजनहरू विशेष पूजापाठ र बलि दिनको लागि यहाँ आउने गर्छन्।

मूल पूजारी उपाध्याय र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार, माईस्थान मन्दिरमा हरेक वर्ष नवदुर्गाको पूजा भव्य रूपमा सम्पन्न गरिन्छ। सप्तमीका दिन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले फूलपाती भित्र्याएर बोकाको बली दिने परम्परा लामो समयदेखि चल्दै आएको छ।

मन्दिरमा देवीको आशिर्वादले भक्तजनहरूको मनकामना पूरा हुने विश्वासले गर्दा स्थानीय र बाह्य भक्तहरूको आस्था मन्दिरप्रति अझ गहिरो हुँदै गएको छ। दशैंको समयमा मन्दिरमा हुने भिडले यस ठाउँको धार्मिक महत्त्वलाई प्रस्ट पार्छ।

वीरगञ्जको गहवामाई मन्दिर धार्मिक आस्था, संस्कृति, र परम्पराको एक महत्वपूर्ण केन्द्र हो, जहाँ हजारौं भक्तजनले आफ्नो मनकामना पूरा गर्न देवीको दर्शन गर्छन्।

Back to top