×

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । 

मंगलबार मेलम्चीबाट काठमाडौं पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा पानी वितरण गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । 

मन्त्री यादवले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भनेपनि अहिले मानिसहरुको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताए । उनकाअनुसार वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि मंगलवारदेखि उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको हो । 

मन्त्री यादवले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं उपत्यकामा आउने जानकारी दिए । पानी ल्याउन धेरै चुनौति र कठिनाइ व्यहोर्नुपरेको भन्दै स्थानीयहरुको माग दशैँपछि सिंहदरबारमा बोलाइ संवादबाट पूरा गर्न सरकार तयार रहेको उनको भनाई छ । 

मन्त्री यादवसँग स्थानीयवासीले तीन महिनाभित्र मागहरु सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मन्त्री यादवले हेलम्बु र मेलम्चीवासीले आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिने बताएका छन् । 
 

Back to top