×

सांकेतिक तस्वीर

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १५, भिष्वामा मंगलबार एक महिलाको शंकास्पद मृत्यु भएको घटनाले स्थानीयबासीमा सनसनी मच्चाएको छ। मृतक महिला २३ वर्षीया गिताञ्जली कुमारी (राधा देवी) हुन, जो संजय सर्राफकी श्रीमती थिइन्। प्रारम्भिक रूपमा उनलाई आत्महत्या गरेको भनिए पनि घटनालाई शंकास्पद मान्दै माइती पक्षले कडा आपत्ति जनाएका छन्।

राधा देवीको परिवारले उनको मृत्यु आत्महत्या नभइ, कुटपिट गरेर हत्या गरिएको दाबी गर्दै शवको अन्तिम संस्कार गर्न अस्वीकार गरेका छन्। यो आरोपपछि शवलाई पुनः नारायणी अस्पतालमा पठाइएको छ। यस घटनाले थप अनुसन्धानको आवश्यकता भएको बताइएको छ।

राधा देवीको हिन्दू परम्परा अनुसार करिब २२ महिना अघि विवाह भएको थियो। उनको ७ महिनाकी एक छोरी पनि छ, जसले यस घटनालाई थप पीडादायी बनाएको छ। पोस्टमार्टम पछि अन्तिम संस्कारको तयारी भइरहेका बेला माइती पक्षले अन्तिम संस्कारमा रोक लगाएका कारण शव पुनः अस्पतालमा लगिएको स्थानीयले बताएका छन्।

मृतक महिला गिताञ्जली कुमारीको शव अहिले पनि नारायणी अस्पताल रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक  (डिएसपी) दीपक भारतीले बताए ।

Back to top