×

सांकेतिक तस्वीर

रौतहट। रौतहटको गढिमाई नगरपालिका-१ समनपुर निवासी ३५ वर्षीय चन्दन साहमाथि धारिलो हतियार खुकुरीले आक्रमण भएको छ। साहलाई गएराति साढे ८ बजे गरुडा नगरपालिका-९ नरकटिया गाउँदेखि दक्षिणतर्फ एक किलोमिटरको दूरीमा अज्ञात व्यक्तिले आक्रमण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साह आफ्नो मोटरसाइकलमा सवार भई गरुडाबाट समनपुरतर्फ गइरहेका बेला नाम र पहिचान नखुलेका व्यक्तिले उनलाई घेरा हालेर टाउको, पछाडिको भाग र बायाँ हातमा खुकुरी प्रहार गरेका थिए। साहले प्रतिकार गर्दै चिच्याएपछि आक्रमणकारी भागेका थिए।

घाइते अवस्थामा रहेका साहलाई तत्काल उपचारका लागि गरुडास्थित सरस्वती अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको र हालसम्म बोल्न नसक्ने अवस्थामा रहेको परिवारजनले जानकारी दिएका छन्। आक्रमणमा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन्।

आक्रमणको कारण र आक्रमणकारीको पहिचानबारे हालसम्म केही खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।

Back to top