×

नाबालिग सहायकलाई बलात्कार गरेको आरोप लागेका बलिउड नृत्य निर्देशक जानी मास्टरबाट उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय अवार्ड खोसिएको छ । भारतको सूचना तथा प्रसारण मन्त्रालयले यसबारे जनाएको छ ।

जानीविरुद्ध १५ सेप्टेम्बरमा उनकी सहायक रहेकी युवतीले तेलंगानाको साइबराबाद रायदुर्गम पुलिस स्टेशनमा एफआईआर दर्ता गरेकी थिइन् । सन् २०२२ मा रिलिज भएको धनुषको फिल्म ‘तिरुचिथ्रम्बलम’को ‘मेघम करुकथा’ गीतको नृत्य कोरियोग्राफी गरेका जानी मास्टरलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो ।

उनले सतीश कृष्णनसँग यस गीतको कोरियोग्राफी गरेका हुन् । उनले ‘स्त्री २’को गीत ‘आइ नही’ र पुष्पाको गीत ‘श्रीवल्ली’ को कोरियोग्राफी गरेका छन् ।

मुद्दा दायर गरेकी युवतीले चेन्नई, मुम्बई र हैदरावादमा विभिन्न प्रोजेक्टको सुटिङका क्रममा आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन् । उनले हैदरावादस्थित आफ्नो घरमा पनि पटकपटक दुव्र्यवहार गरेको आरोप लगाइएको छ ।

युवतीले आफ्नो उजुरीमा सन् २०१७ मा जानी मास्टरसँग भेट भएको बताएकी छन् । दुई वर्षपछि, जानीले उनलाई आफ्नो सहायक कोरियोग्राफरको कामको प्रस्ताव गरे, जुन उनले स्वीकार गरिन् ।

त्यसपछि मुम्बईमा एक शोका क्रममा जानीले उनलाई होटलमा यौन दुव्र्यवहार गरेको जनाइएको छ । त्यसपछि जानीले लगातार धम्की दिएर शोषण गरेको युवतीको आरोप छ । उनले आफूलाई विवाहका लागि बारम्बार दबाब दिइरहेको पनि उनी बताउँछिन् । एकपटक आफ्नो घरमा लगेर जानी र उनकी श्रीमती (आयशा)ले उनलाई कुटपिट गरेको आरोप पनि उनको छ ।

प्रहरीले १५ सेप्टेम्बरमा पोक्सोमा मुद्दा दर्ता गरेको थियो । जानीलाई १९ सेप्टेम्बरमा गोवाबाट पक्राउ गरिएको थियो । उनलाई २० सेप्टेम्बरमा अदालतमा पेश गरिएको थियो । त्यसयता उनी हैदरावादको चंचलगुडा सेन्ट्रल जेलमा छन् ।

Back to top