×

रौतहट। हालैको विनाशकारी बाढीका कारण रौतहट जिल्लाका अधिकांश पालिकामा धान बाली, माछा व्यवसाय, तरकारी खेती तथा उद्योगहरूमा ठूलो क्षति पुगेको भन्दै नेकपा (एस) ले रौतहटलाई बाढी संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेको छ।

नेकपा (एस) का जिल्ला अध्यक्ष कमल राय यादवको नेतृत्वमा गौर नगरप्रमुख शम्भु साह, राजदेवी नगरप्रमुख भिखारी राय यादव, बौधीमाई नगरप्रमुख प्रदीप यादव, प्रदेश सांसद कनिष्ठ पटेल, महिला नेतृ सरला यादव, रेबन्त झा र अनिललाल दास सहितका नेताहरूले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा बाढीका कारण किसानहरूको बालीमा ठूलाे क्षति पुगेको उल्लेख गर्दै, तत्काल रौतहटलाई संकटग्रस्त जिल्ला घोषणा गर्नुपर्ने र प्रभावित किसान तथा व्यवसायीहरूलाई राहत दिनुपर्ने माग गरिएको छ।

जिल्ला अध्यक्ष यादवले राज्यले यो विषयलाई गम्भीरताका साथ नलिने हो भने दशैं विदापछि नेकपा (एस) ले चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिएका छन्।

ज्ञापन बुझाउने क्रममा नेताहरूले सरकारले प्रभावित क्षेत्रका जनतालाई समयमै राहत उपलब्ध नगराए स्थिति अझै बिग्रिन सक्ने भन्दै चाँडो कदम चाल्न आग्रह गरेका थिए।

 

 

 

 

Back to top