×

रौतहट। असोज १३ - गत असोज १३ गते आएको विनाशकारी बाढीका कारण रौतहट जिल्लामा हजारौं विगहा जग्गामा लगाइएको धानबाली, माछा पोखरी, पोल्ट्री फर्म लगायतका भौतिक संरचना पूर्ण रुपमा तहसनहस भएका छन्। यस बाढीको विनाशकारी प्रभावका कारण नेकपा एमालेले यस जिल्लालाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ता, केन्द्रीय सदस्य एवं पूर्व सांसद रेखा झा, एमाले नेता एवं लेखा आयोग सदस्य राजकिशोर यादवको विशेष उपस्थितिमा जिल्ला अध्यक्ष सचिदानन्द साहको नेतृत्वमा एमालेका नेता तथा कार्यकर्ताहरुले मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा रौतहट जिल्लाका किसानको धानबाली, माछा पोखरी, कृषि फर्म, व्यापार क्षेत्र लगायतका संरचना पूर्णरुपमा नष्ट भएको उल्लेख गर्दै, यस जिल्लालाई अति प्रभावित जिल्ला घोषणा गरी राहतका प्याकेज पठाउन माग गरिएको छ।

ज्ञापन पत्र बुझाउने टोलीमा रामकिशोर महतो, श्यामसुन्दर पटेल, राजेशकुमार सिंह, मिथिलेश कुमार झा, ओमप्रकाश मधेशिया, अवधेश यादव, नमोनारायण पटेल, भैरव पटेल, विरेन्द्र महतो, सतिशकुमार झा, लक्ष्मि महतो लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ज्ञापन पत्र प्राप्त गरेको पुष्टि गर्दै, उक्त ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा तत्काल पठाउने आश्वासन दिएका छन्।

रौतहट जिल्लामा बाढीका कारण भएको यो क्षति स्थानीय नागरिक र कृषकहरुकालागि गम्भीर चुनौती बनेको छ, जसका कारण यसलाई बाढी प्रभावित क्षेत्र घोषणा गर्न माग तीव्र रुपमा उठेको छ।

Back to top