×

बारा। बाराको फेटा गाउँपालिकामा सोमबार बाढी प्रभावित स्थानीयहरुलाई राहत वितरण गरिएको छ। गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको बाढीका कारण घर र बालीमा व्यापक क्षति पुगेपछि गाउँपालिकाले पीडितहरुको सहायताका लागि पहल थालेको हो।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले बाढी पीडितहरुलाई राहत सामग्री वितरण गर्दै तत्कालीन अवस्थामा सहयोग गरिएको बताए। राहत सामग्रीमा १ बोरा चामल, दाल, र आवश्यक दैनिक सामग्रीहरु समावेश गरिएको थियो। साथै, अस्थायी बसोबासका लागि त्रिपाल पनि वितरण गरिएको छ।

अध्यक्ष अन्सारीले स्थानीय सरकारको तर्फबाट यथासम्भव सहयोग गरिएको जनाउँदै, प्रदेश र संघीय सरकारलाई पनि पीडितहरुको सहयोगका लागि अपील गरेका छन्। उनले यस विपद्को समयमा थप सहयोगको आवश्यकता रहेको भन्दै सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिए।

राहत वितरण कार्यक्रममा ४० जना प्रभावित व्यक्तिहरुले राहत सामग्री प्राप्त गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह, स्थानीय नेताहरू, समाजसेवी, र कर्मचारीहरुको पनि सो अवसरमा उपस्थिति रहेको थियो।

अध्यक्ष अन्सारीले स्थानीय बाढी पीडितहरुको अवस्था सुधार गर्न थप पहल गरिरहेको बताएका छन्।

Back to top