×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव अलायन्सको सदस्यता प्राप्त गरेको छ। दक्षिण अमेरिकाको चिलीमा अवस्थित स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले सर्वसम्मत रूपमा जसपालाई संगठनको सदस्यता दिने निर्णय गरेको हो।

प्रोग्रेसिव अलायन्स एक अन्तर्राष्ट्रिय संगठन हो, जसमा समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक, र प्रगतिशील पार्टीहरू संलग्न छन्। जसपा नेपाल अब यस संगठनको नयाँ सदस्य बनेको छ। सम्मेलनमा विश्वभरका १९० राजनीतिक दलहरू सदस्य रहेका छन्। जसपा नेपाललाई सर्वसम्मत मतको आधारमा सदस्यता दिइएको हो।

उक्त सम्मेलनमा सबै महादेशबाट प्रोग्रेसिव अलायन्सका करिब दुई सय राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका थिए। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए।

सम्मेलनको मुख्य विषयवस्तुहरूमा स्वतन्त्रता, सामाजिक न्याय, मानवअधिकारको सुनिश्चितता, लैंगिक विभेदको अन्त्य, सामाजिक–आर्थिक तथा जातीय विभेदको अन्त्य, असमानता र उत्पीडनको समाप्ति, साथै पर्यावरणीय सुरक्षाका अवधारणाहरू समेटिएका थिए। सम्मेलनले प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको महत्वलाई बल दिएको छ।

जसपाको यो सदस्यता प्रगतिशील राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ।

Back to top