×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १२, मुर्लीमा एमएडब्ल्यु ग्रुपद्वारा सञ्चालित फोटोन इलेक्ट्रिक कारको नयाँ शोरुमको उद्घाटन भएको छ। वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले एक विशेष कार्यक्रमको आयोजना गर्दै रिबन काटेर शोरुमको औपचारिक रूपमा उद्घाटन गर्नुभयो।

कार्यक्रममा उपप्रमुख आलमले वीरगञ्जका नागरिकलाई अब इलेक्ट्रिक कार खरिद गर्नका लागि अन्यत्र जानु नपर्ने कुरा बताउँदै खुशी व्यक्त गर्नुभयो। उहाँले इलेक्ट्रिक कारको प्रयोग र बिक्रीले स्थानीय नागरिकदेखि व्यापारीसम्मलाई फाइदा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।

शोरुममा हाल १० र १५ सिट क्षमताका दुई मोडलका फोटोन इलेक्ट्रिक कारहरू उपलब्ध छन्। शोरुमका संचालक सदिक समानीले दशैंको अवसरमा शोरुम खुल्नुभन्दा पहिले नै कारको बुकिङ भएको जानकारी दिनुभयो। उहाँले १५ सिट क्षमताको कार एक पटक चार्ज गरेपछि २३५ किलोमिटरसम्म यात्रा गर्न सक्ने र तीन लाख किलोमिटर वा पाँच वर्षको वारेन्टी सुविधा रहेको जानकारी दिनुभयो। यसका साथै, २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधा पनि उपलब्ध रहेको छ।

गाडीमा सबै सिटहरू फोल्ड गर्न सकिने र एसीको सुविधा पनि रहेको उल्लेख गरिएको छ। हालै पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिसँगै ग्राहकहरूको आकर्षण इलेक्ट्रिक कारतर्फ बढिरहेको पनि पाइएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, उद्योगपति ओमप्रकाश सिकारिया र नेजमुदिन समानी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति शोरुमका संचालक सदिक मिया समानी रहनुभएको थियो।

Back to top