×

वीरगञ्ज । वीरगञ्ज कपडा बैंकले दशैंको अवसरमा वीरगञ्जको घण्टाघरमा सोमबार नि:शुल्क कपडा वितरण गरेको छ। बैंकले गरीब, असहाय र बिपन्न परिवारका लागि करिब १ हजार थान नयाँ र पुराना कपडा वितरण गरेको छ।

वीरगञ्ज कपडा बैंकले प्रत्येक दिन आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म वीरगञ्ज-८ मा रहेको आफ्नो कार्यालयबाट नि:शुल्क कपडा वितरण गर्दै आएको छ। यस अवसरमा बैंकका सचिव कन्हैया पटेलले सोमबारको कार्यक्रममा १ हजार थान कपडा वितरण गरिएको जानकारी दिए।

कार्यक्रमको अध्यक्षता वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए। प्रमुख अतिथिका रूपमा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी सहभागी थिए। सल्लाहकारद्वय अधिवक्ता प्रकाश उपाध्याय र ओमप्रकाश सर्राफ, समाजसेवी हुकुम सिंह राजपूत, युवा अभियन्ता केदार गुप्ता र महादेव कुर्मी, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, उपाध्यक्ष प्रकाश थारु लगायतका व्यक्तिहरू कार्यक्रममा उपस्थित थिए।

प्रमुख अतिथि अधिवक्ता कुर्मीले वीरगञ्ज कपडा बैंकले विगत ६ वर्षदेखि गरिब तथा विपन्न वर्गका लागि कपडा उपलब्ध गराउँदै आएको र यो अभियानले समाजमा सकारात्मक प्रभाव पारेको बताए। "जो संग धेरै छ, हामीलाई दिएर जानुहोस्, र जसलाई आवश्यक छ, उनले हामीबाट नि:शुल्क कपडा लिनुहोस्" भन्ने नारा लिएर कपडा बैंकले निरन्तर सेवा पुर्याउँदै आएको उल्लेख गर्दै कुर्मीले सबैलाई आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम समाजसेवामा खर्च गर्न प्रेरित गरे।

कार्यक्रममा सल्लाहकार उपाध्याय र सराफले पनि आफ्नो मन्तव्य राख्दै कुनै पनि व्यक्तिले चाडपर्वको समयमा नयाँ कपडा नपाएर दुखी हुन नपरोस् भन्दै सहयोगी दाताहरूप्रति आभार व्यक्त गरे।

अध्यक्ष लालबाबू सिंहले सामूहिक प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याउने र यो सेवा नै मानव धर्म भएको बताए। उनले कपडा बैंकलाई निरन्तर सहयोग गर्ने दाताहरू, शुभेच्छुकहरू, सल्लाहकारहरू, सञ्चारकर्मीहरू तथा सदस्यहरूलाई धन्यवाद दिँदै बडादशैं, दीपावली, र छठ पर्वको शुभकामना व्यक्त गरे।

Back to top