×

रौतहट। यमुनामाई गाउँपालिका वडा नं. ४ का वडाध्यक्षले विगत सात वर्षदेखि आफ्नो गोठबाट वडा कार्यालय सञ्चालन गर्दै आएकामा विरोध गर्दै सोमबारदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी जारी छ।

नेपाली काँग्रेसको वडा समितिले वडा कार्यालयलाई सबैको पहुँचमा पर्ने स्थानमा सार्न पटक-पटक आग्रह गर्दा पनि कुनै सुनवाई नभएपछि असोज १० गतेदेखि २४ घण्टे रिले अनशनमा बसेको थियो। अनशनपछि पनि सुनुवाई नभएपछि असोज २० गते बिहानैदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो।

तालाबन्दीको नेतृत्व नेपाली काँग्रेस यमुनामाई गाउँ कार्यसमिति र वडा समितिले लिएको छ। आन्दोलनका संयोजक श्रीराम राय यादवले, "वडाध्यक्ष अश्वनीकुमार यादवले (चेतन यादव) आफनो घर-गोठबाट वडा कार्यालय सञ्चालन गर्दा जनताले धेरै समस्या भोग्नुपरेको छ। वडा कार्यालयको उचित स्थानमा स्थानान्तरण गर्न हाम्रो मागलाई अटेर गरिएको छ," भने।

उनले प्रमुख जिल्ला अधिकारीसमक्ष समस्या राख्दा पनि कुनै न्याय नपाएको र अन्ततः तालाबन्दी गर्न बाध्य भएको बताए। आन्दोलनकारीहरूको चेतावनी छ– जबसम्म उनीहरूको माग पूरा हुँदैन, तबसम्म तालाबन्दी जारी रहनेछ। संयोजक यादवले सम्बन्धित निकाय अझै पनि उदासीन रहेको तर माग पूरा नगरेसम्म संघर्ष जारी राख्ने चेतावनी दिए।

गाउँपालिकामा तालाबन्दीले अन्य सेवा प्रवाहमा अवरोध पुर्‍याइरहेको छ, तर वडा कार्यालयको स्थानान्तरणका लागि हालसम्म कुनै प्रयास भएको छैन।

Back to top