×

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थको सेवन छोड्ने आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ । 

सहकारीमा आबद्ध सदस्यहरूमध्ये गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल, र मौलबहादुर राईलाई नगद पाँच हजार पाँच सयका साथै प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

सहकारीका सह प्रबन्धक तेजबहादुर राईका अनुसार मादक पदार्थको अत्यधिक सेवनले समाजमा विकृति ल्याउँदै आएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको हो । उनले भने, ‘मादक पदार्थको सेवनले झैझगडा तथा परिवार विखण्डनका धेरै घटनाहरू देखिएका छन् । यो सम्मान अभियानले सदस्यहरूलाई उत्पादनशील क्षेत्रमा लाग्न प्रोत्साहन दिन्छ । पहिलो चरणमा सहकारीका सदस्यहरूबिच कार्यक्रम लागू गरेका छौँ र पछि गाउँ टोलमा समेत विस्तार गर्ने योजना छ ।’

सन् २०६५ मा ३० जना युवाहरूको सक्रियतामा स्थापित यो सहकारीले ग्रामीण समाजमा सकारात्मक प्रभाव पार्नेमा स्थानीयवासी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का युवा नेता अमर श्रेष्ठले विश्वास व्यक्त गरेका छन् । दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले मादक पदार्थ त्याग्ने तीन जना सदस्यलाई खादा, अबिर र प्रमाणपत्रसहित सम्मान गरे ।

सहकारीका प्रबन्धक भक्तबहादुर दाहालले सहकारीको स्थापना ३० हजार रुपैयाँ पुँजीबाट सुरु भएको र अहिले १० लाख रुपैयाँ पुँजी पुगेको जानकारी दिए । प्रत्येक महिनाको २ गते नियमित बैठक हुने र मासिक एक सयदेखि एक हजारसम्मको बचतमार्फत पुँजी सङ्कलन गर्दै सहकारीले आवश्यकताअनुसार ऋण प्रवाह गर्ने गरेको उनले बताए । दाहालका अनुसार, अहिले सबै शेयर सदस्यहरू व्यावसायिक रूपमा क्रियाशील भई सहकारीबाट लाभान्वित भएका छन्, जसले उनीहरूको घर खर्च चलाउन मद्दत पुर्‍याएको छ ।

Back to top