×

वीरगञ्ज । चाडवाडलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ । यस योजनाले दशैंको समयमा अत्यधिक ट्राफिक चापलाई व्यवस्थित गर्न, दुर्घटनाहरू रोक्न, र ट्राफिक नियमको उल्लंघनलाई कडाइका साथ नियन्त्रण गर्ने उद्देश्य लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले बताए । 

दशैंको बेला गाउँ फर्कने यात्रुहरूको चाप अत्यधिक हुने भएकोले, प्रमुख नाकाहरूमा अस्थायी ट्राफिक पोस्टहरू स्थापना गरिएको छ भने, अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरी सवारी साधनहरूको निरीक्षणलाई कडाइ गरिएको भट्टले बताए । प्रमुख जंक्शनहरूमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ र यात्रुलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न प्रोत्साहित गरिएको छ । यसले मुख्य मार्गहरूमा जाम हटाउन मद्दत पुग्ने प्रहरी निरीक्षक भट्टको विश्वास छ ।

सवारी दुर्घटना रोक्न ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि तत्काल कारबाही गर्ने अभियान संचालनमा छ । विशेषगरी मदिरा सेवन गरी सवारी चलाउनेलाई कानुनअनुसार कारवाही गरिने हुँदा मादक पदार्थ सेवन (मापसे) नगर्न उनले आग्रह गरेका छन् । 

ट्राफिक चेकपोस्टहरूमा मापसे जाँचका साथै, स्पीड लिमिट उल्लंघन गर्नेहरूलाई पनि तुरुन्त कारबाही गरिने उनले चेतावनी समेत दिए । उनकाअनुसार प्रमुख स्थानहरूमा सीसीटीभी मार्फत निगरानी पनि गरिनेछ । सार्वजनिक सवारी साधनले यात्रुसँग बढी भाडा असुल्ने र क्षमता भन्दा बढी यात्रु राख्ने गरेको गुनासोको आधारमा अनुगमनमा पनि कडाई गरिएको उनले बताए । 

सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन निश्चित मार्ग र समयभित्र चलाउने निर्देशन दिइएको छ । ओभरलोडिङ रोक्न कडाइ गरिनुका साथै, सवारी चालक र सहचालकहरूलाई परिचय पत्र अनिवार्य गरिएको छ । यात्रुको सुरक्षाका लागि सवारी साधनहरू नियमित अनुगमन गरिँदैछ । 

इदगाह चोकबाट बाइपास जाने सडकमा विशेष ट्राफिक व्यवस्था गरिएको छ भने, पावरहाउसदेखि प्रतिमा चोक हुँदै बसपार्क, गण्डक, परवानीपुर, र शंकराचार्य गेटका विभिन्न स्थानमा ट्राफिक सहायता कक्ष राखिएको छ । 

यस्तै, मुख्य रिंगरोड क्षेत्रमा दुई पांग्रे र चार पांग्रे सवारी साधनको आवतजावत रोक लगाइएको छ । बजार क्षेत्रमा व्यवसाय र बजार लाग्ने भएकाले नागरिकको सहजतालाई मध्यनजर गर्दै मुख्य सडकमा फूलपाथीको दिनदेखि चारैतर्फ सवारी साधन पूर्ण रुपमा निषेध गरिएको उनको भनाई छ ।

Back to top