×

माले  । मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु अहिले भारत भ्रमणमा छन् । आर्थिक सङ्कटबाट गुज्रिरहेको मालदिभ्स सहयोगको अपेक्षासहित राष्ट्रपति मुइज्जु भारत भ्रमणमा गएका हुन् ।

हिन्द महासागरको सानो टापु राष्ट्र मालदिभ्स आफ्नो विशाल छिमेकी राष्ट्र भारतसँग खाद्यान्न, पूर्वाधार निर्माण र स्वास्थ्य सेवासहितमा निर्भर छ । अघिल्लो वर्षको अन्त्यमा निर्वाचित मुइज्जुको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

चुनावी अभियानका क्रममा उनले ‘इन्डिया आउट’ को नारा चलाउँदै दिल्लीको प्रभाव कम गर्ने वाचा गरेका थिए । त्यसयता दुई देशबिचको सम्बन्ध चिसिएको छ । तर विज्ञहरूले यो भ्रमणले मालदिभ्सले आफ्नो विशाल छिमेकीलाई उपेक्षा गर्न नसक्ने सङ्केत दिएको बताएका छन् ।

सेप्टेम्बर महिनामा मालदिभ्सको विदेशी मुद्रा सञ्चिति ४४ करोड डलर (५९ अर्ब ३१ करोड रुपियाँ) रहेको थियो । त्यसबाट मालदिभ्सलाई जम्मा डेढ महिनाका लागि मात्र आयात गर्न सम्भव रहेको हुन्छ ।

भारतको आर्थिक सहयोगले मालदिभ्सको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउँदै देशलाई टाट पल्टनबाट जोगाउन सक्ने अनुमान विज्ञहरूको छ ।

भारत भ्रमण गर्नुअघि मुइज्जुले टर्की र चीनको भ्रमण गरेका थिए । गत जनवरीमा उनको चीनको भ्रमणलाई उच्चस्तरको कूटनीतिक धक्का मानिएको थियो ।

विगतमा सत्तामा निर्वाचित भएपछि मालदिभ्सका नेताहरूले सबैभन्दा पहिले दिल्लीको भ्रमण गर्ने गर्थे । त्यसै बेला मालदिभ्सका तीन अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा अपमानजनक टिप्पणी गरेपछि भारतमा ठूलो विवाद भएको थियो ।

युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा प्राध्यापन गर्ने मालदिभ्सका विश्लेषक अजिम जहिर भन्छन्, ‘राष्ट्रपति मुइज्जुको दिल्ली भ्रमण कैयौँ हिसाबले पुरानै दिशातर्फको फिर्ती हो ।’ प्रधानमन्त्री मोदीको शपथग्रहणमा भाग लिन मुइज्जुले गएको जुनमा भारतको भ्रमण गरेका थिए । मालदिभ्समा भारतको प्रभाव रहिआएको छ ।

दिल्ली र मालेले आधिकारिक रूपमा यो भ्रमणको एजेन्डामा आर्थिक प्याकेज पनि रहेको खुलाइसकेका छैनन्। तर विज्ञहरूले त्यो छलफलको विषय हुने विश्वास गरिरहेका छन् । तर अधिकारीहरूले मुइज्जुको यो भ्रमणको एउटा प्रमुख प्राथमिकता आर्थिक सहयोग प्राप्त गर्नु हो ।

मालदिभ्सको सार्वजनिक ऋण झन्डै ८ अर्ब डलर रहेका छ जसमध्ये भारत र चीन प्रत्येकलाई उसले १.४ अर्ब डलर तिर्नुपर्ने स्थिति छ । अन्य कुनै पनि देश सहयोगका लागि नआइरहेको सन्दर्भमा मुइज्जु अहिले भारतसँग सम्बन्ध सुधारका लागि अग्रसर भएको जस्तो देखिन्छ ।

मुइज्जुको प्रशासनले एउटा चिनियाँ अनुसन्धान पानीजहाज ‘शियाङ याङ हङ ३’ लाई रोकिने अनुमति दिएको थियो जसले दिल्लीलाई असन्तुष्ट बनाएको थियो ।

यसै वर्षको जुन महिनामा तेस्रो कार्यकालका लागि निर्वाचित प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा मुइज्जु सहभागी भएपछि सम्बन्धमा सुधारको सङ्केत देखिएको छ । अगस्ट महिनामा भारतीय विदेश मन्त्री एस जय शङ्करले मालदिभ्स भ्रमण गरेपछि दुई पक्षीय सम्बन्धलाई नयाँ दिशा दिएको छ । दिल्लीका लागि मालदिभ्सको सम्बन्धमा देखा पर्दै गरेको परिवर्तन सकारात्मक हो । हालै बङ्गलादेशमा भारतसँग मित्रवत् सम्बन्ध रहेको सरकारको नेतृत्व गरेकी पूर्व प्रधानमन्त्री शेख हसिना पदबाट हट्न बाध्य भएकी थिइन् ।

अर्को छिमेकी नेपालमा भारतीय नीतिहरूको आलोचना गर्ने गरेका केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । मुइज्जुले भारतलाई चिढाउनु ठिक विकल्प नभएको बुझेका छन् र उनको त्यो सुझबुझमा विशेष कारणहरू छन् ।

मुइज्जुलाई के थाहा छ भने यदि उनले भारतबाट आर्थिक सहयोग प्राप्त गरेनन् भने, मालदिभ्स रौनक गुमाएको स्वर्ग बन्न सक्छ । त्यही भएर उनको भारत भ्रमण महत्त्वपूर्ण छ ।

Back to top