×

वीरगञ्ज । वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ प्रमुख धर्मेन्द्र लाल कर्णलाई असफल बनाउन षड्यन्त्र रचिएको खुलासा भएको छ । कार्यालयमा करारका ड्राइभर शम्भु गुरुङले प्रमुख कर्णलाई पदबाट हटाएर भ्रष्टाचारमा मुछिएका निवर्तमान प्रमुख कमल राज गौतमलाई पुनः ल्याउने षड्यन्त्रको योजना बनाइरहेको समाचार प्राप्त भएको छ ।

गुरुङले यसअघि पूर्वप्रमुख उमेश रेग्मीलाई असफल बनाउन मुख्य भूमिका खेलेर भ्रष्टाचारमा संलग्न रहेका गौतमलाई कार्यालयमा पुनः स्थापित गराउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । स्रोतका अनुसार, गुरुङ अहिले पनि कर्णलाई असफल बनाउन सक्रिय छन् ।

गुरुङको पृष्ठभूमि र सेटिङ: 

गुरुङले लगभग २५ वर्षअघि वीरगञ्ज कार्यालयमा भान्सेको रूपमा काम सुरु गरेका थिए । र, आफ्नो प्रभावशाली सम्बन्धलाई उपयोग गर्दै ड्राइभर पदमा नियुक्त भए । यद्यपि, उनी करारका ड्राइभर भए पनि कार्यालय प्रमुखको भूमिकामा पनि अप्रत्यक्ष रूपमा आफ्नो पकड बनाइरहेको बताइन्छ । गुरुङले कार्यालयमा भ्रष्टाचारका विभिन्न माध्यमद्वारा करोडौँ रुपैयाँ आर्जन गरेको चर्चा पनि रहेको छ ।

उनले चितवनका सन्दीप मगर, गोरखाका सुरज पाठक र धरानका सुमन मगरलाई बिना नियुक्ति आफ्नो साथमा राखेर बिचौलियाका रूपमा प्रयोग गर्ने गरेको भनाइ छ । यी व्यक्तिहरूको सहयोगमा गुरुङले कार्यालयलाई भ्रष्टाचारको केन्द्र बनाएको आरोप लाग्दै आएको छ ।

नयाँ प्रमुखविरुद्ध षड्यन्त्र: 

नवआगन्तुक प्रमुख कर्णले गुरुङको सल्लाहअनुसार नहिँड्ने भएपछि गुरुङले उनलाई असफल पार्न थालेको कर्मचारी स्रोतले जनाएको छ । गुरुङको योजना कर्णलाई असफल बनाइ पुनः गौतमलाई कार्यालयमा ल्याउने उद्देश्य राखेको देखिन्छ ।

गौतममाथि भ्रष्टाचारको आरोप: 

 कमल राज गौतमले आफ्नो कार्यकालमा परीक्षा लिने क्रममा पाँच करोड रुपैयाँ असुलेको आरोप लागेको थियो । श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवको सिफारिसमा मुख्यमन्त्रीको कार्यालयले गौतमको सरुवा गरेको थियो । गौतमले आफ्नो सरुवा रोक्न प्रयास गरे पनि असफल भएका थिए ।

कार्यालय सुधारको माग: 

वीरगञ्जको यातायात व्यवस्था कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउन कर्मचारी र सेवाग्राहीहरूले गुरुङलाई पनि हटाउनुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार, जसरी गौतमलाई हटाइएको थियो, त्यसै गरी गुरुङलाई पनि हटाएर कार्यालयलाई स्वच्छ र पारदर्शी बनाउनु आवश्यक छ ।

Back to top