×

वीरगञ्ज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी ड्याममुनि रहेको सिमखोलामा बनाएको डाइभर्सन भासिँदा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । 

डाइभर्सन भासिएपछि कुलेखानी–फाखेल–महालक्ष्मी र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा यातायात अवरुद्ध भएको छ । आइतबार दिउँसो मात्र सञ्चालनमा ल्याइएको यो सडक पुनः अवरुद्ध भएको हो ।

पाँच दिनको प्रयासपछि सिमखोला, महालक्ष्मी खोला, र सिस्नेरी खोलाले बगाएको बाटोको विकल्पमा डाइभर्सन निर्माण गरिएको थियो । तर, फिलिङ गरिएको माटो भासिएपछि यातायात ठप्प भएको छ । हाल डाइभर्सनमा पुनः माटो भराइ भइरहेको छ, र दुई घण्टाभित्र सवारी सञ्चालनमा आउने जानकारी निर्माण स्थलमा रहेका प्राविधिकले दिएका छन् ।

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय तह, नेपाली सेना, र प्रहरीको समन्वयमा सिमखोला, महालक्ष्मी, र सिस्नेरीमा डाइभर्सन बनाइ आइतबारदेखि सवारी सञ्चालन गरिएको थियो ।

साथै, पछिल्लो समय हेटौँडा–काठमाडौँ सडकको विभिन्न रुटमा पनि समस्याहरू देखिएका छन् । पहिरो, भास्सिने डाइभर्सन, र मौसमको प्रभावले गर्दा थानकोट–नागढुंगा, भीमफेदी–कुलेखानी, र सिस्नेरी हुँदै जाने सडक खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ ।

Back to top