×

वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन प्रक्रियामा वीरगञ्जका पाँच खेलाडीले विभिन्न टोलीमा स्थान बनाएका छन्, जसले गर्दा स्थानीय क्रिकेट प्रेमीहरूमा ठूलो उत्साह छाएको छ । 

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा सहोदर भाइ आरिफ शेख र आसिफ शेखसँगै, रञ्जित कुमार, सन्तोष कार्की र रासिद खानले एनपीएलमा खेल्ने मौका पाएका हुन् ।

अलराउण्डर खेलाडी आरिफ शेखलाई सुदूरपश्चिम रोयल्सले १५ लाख रुपैयाँमा अनुबन्धित गरेको छ । आइतबार काठमाडौँमा भएको अक्सनमा उनले १० लाख रुपैयाँको आधार मूल्य राखेका थिए, तर कर्णाली, सुदूरपश्चिम र काठमाडौँ टोलीबिचको प्रतिस्पर्धामा उनी १५ लाख रुपैयाँसम्ममा बिके । 

त्यस्तै नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेख यसअघि नै जनकपुर बोल्ट्सको मार्की खेलाडीको रूपमा छनोट भइसकेका थिए । दुवै सहोदर भाइ नेपाल राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण खेलाडी हुन् ।

वीरगञ्जका अर्का खेलाडी रासिद खानलाई काठमाडौँ गुर्खासले १० लाख रुपैयाँमा अनुबन्धित गरेको छ । अलराउण्डर रासिदले आफ्नो क्रिकेट कौशलको आधारमा एनपीएलमा स्थान पाउन सफल भएपछि स्थानीय बासिन्दाहरू निकै उत्साहित छन् ।

वीरगञ्जको नेशनल इन्फोटेक (एनआइ) कलेजका विद्यार्थी रञ्जित कुमार र सन्तोष कार्कीलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । रञ्जित लेफ्टआर्म बलर हुन् भने सन्तोष ओपनर ब्याट्सम्यान र विकेटकिपर हुन् । रञ्जितलाई तीन लाख रुपैयाँमा र सन्तोषलाई पाँच लाख रुपैयाँमा अनुबन्ध गरिएको हो ।

पर्सा क्रिकेट सङ्घका अध्यक्ष ई. मनिष सिंहले पाँच जना खेलाडीको एनपीएलमा छनोट भएपछि खुसी व्यक्त गरेका छन् । उनले भने, “यो वीरगञ्जको क्रिकेट क्षेत्रमा एउटा ठूलो उपलब्धि हो । यी खेलाडीहरूले न केवल आफ्नो व्यक्तिगत करियरलाई उचाइमा पुर्‍याए, तर वीरगञ्जलाई राष्ट्रिय स्तरमा स्थापित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।”

त्यस्तै, स्थानीय युवा तथा खेल प्रेमी सौरभ साहले पनि उत्साह व्यक्त गर्दै भने, “वीरगञ्जका खेलाडीहरूको यो प्रगति हामी सबैका लागि गर्वको विषय हो । उनीहरूको सफलताले यहाँका युवा खेलाडीहरूलाई पनि प्रेरित गर्नेछ ।”

वीरगञ्जका पाँच खेलाडीको एनपीएलमा चयनसँगै स्थानीय क्रिकेट प्रेमीहरूको जोस र उत्साहले यहाँको खेलकुदको विकासमा थप ऊर्जा भर्ने अपेक्षा गरिएको छ ।

एनपीएल मङ्सिर १६ गतेदेखि काठमाडौँमा सुरु हुनेछ, जहाँ आठ टोलीबिच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जका खेलाडीहरूको सहभागिताले एनपीएललाई थप रोमाञ्चक बनाउने विश्वास गरिएको छ ।

*यसअघि समाचारमा पाँच खेलाडीको ठाउँमा अन्यथा हुन गएकोमा त्यसलाई सच्याइएको छ । - सम्पादक ।

Back to top