×

वीरगञ्ज । नेशनल इन्फोटेक (एनआइ) कलेजका दुई युवा खेलाडीलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले अनुबन्धित गरेको छ । 

एनआइ कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका रञ्जित कुमार र कक्षा ११ मा अध्ययनरत सन्तोष कार्कीलाई चितवन राइनोजले खरिद गरेको हो ।

आइतबार काठमाडौँमा आयोजित एनपीएल खेलाडी अक्सन प्रक्रियामा चितवन राइनोजले रञ्जितलाई तीन लाख रुपैयाँ र सन्तोषलाई पाँच लाख रुपैयाँमा अनुबन्ध गरेको एनआइ कलेजका संस्थापक निर्देशन ई. मनिष सिंहले जानकारी दिए । यस अक्सनले दुवै खेलाडीको प्रतिभा र भविष्यमा हुने सम्भावनालाई उजागर गरेको सिंहले बताए ।

सिंहका अनुसार, रञ्जित कुशल बलर हुन् भने सन्तोष ओपनिङ ब्याटर र विकेटकिपरको रूपमा खेल्छन् ।चितवन राइनोजले उनीहरूको क्रिकेट क्षमता पहिचान गर्दै टोलीमा सामेल गरेको हो ।

सिंहले दुवै खेलाडीलाई बधाई दिँदै आगामी खेलमा सफलताको शुभकामना व्यक्त गरेका छन् । 

वीरगञ्जको खेलकुद विकासमा एनआइ कलेजले ठूलो भूमिका खेल्दै आएको छ । विशेष गरी क्रिकेट खेल विकासका लागि कलेजका संस्थापक निर्देशक सिंहले ठुलै लगानी गरेका छन् । उनी हाल पर्सा क्रिकेट सङ्घका अध्यक्ष समेत हुन् । उनले खेलकुद र शिक्षा दुवै सँगसँगै लिएर जान सकिने कयौँ उदाहरणहरू दिएका छन् ।

एनपीएल आगामी मङ्सिर १६ गतेबाट काठमाडौँमा सुरु हुँदै छ, जहाँ देशभरका उत्कृष्ट टोलीबिच प्रतिस्पर्धा हुनेछ ।

Back to top