×

वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ मधेस प्रदेशले कारागारमा रहेका व्यक्तिलाई छुटाउनका लागि चन्दा सङ्कलन गरिरहेको छ । महासङ्घ मधेस प्रदेशका सचिव अनिल कुमार सर्राफले ९ असोज २०८१ मा एक पत्र लेख्दै सहयोगका लागि अपिल गरेका छन् । 

सचिव सर्राफद्वारा हस्ताक्षरित पत्रअनुसार थुनामा रहेका व्यक्तिलाई छुटाउनका लागि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । ‘नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नक्साल काठमाडौँका प्रस्तावित उपाध्यक्ष तथा मधेस प्रदेशका पूर्व अध्यक्ष शिवकुमार सर्राफ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन प्रकरणमा सीआइबीको अनुसन्धानबाट पक्राउ परी हाल पुर्पक्षको लागि थुनामा रहेको हुँदा कानुनी प्रतिरक्षाका लागि सहयोग गर्न अनुरोध गरिएको छ’, पत्रमा उल्लेख छ । सम्पूर्ण जिल्ला तथा नगर सङ्घका अध्यक्ष, कार्यकारी पदाधिकारी कार्यसमिति लगायत सम्पूर्ण सदस्यहरूले सक्दो सहयोग गर्न सचिव सर्राफले अनुरोध गरेका छन् । 

माछापुच्छ्रे बैंक लिमिटेड नक्साल शाखाको हरि प्रसाद अधिकारीको नाममा रहेको बैंकको खाता नम्बर र उक्त खाताको क्यु आर कोड समेत राखेर महासङ्घ मधेस प्रदेशले जिल्ला तथा नगर सङ्घहरूलाई पत्राचार गरेको छ । असोज ९ गते भित्र आइपुग्ने गरी महासङ्घको लेखापालको बैंक खाता नम्बरमा रकम जम्मा गरी भौचर महासङ्घ मधेस प्रदेशलाई इमेल गर्न पनि आग्रह गरेको थियो । 

सुनचाँदी व्यवसायी सङ्घ बाराका पूर्व अध्यक्षसमेत रहेका शिवकुमार सर्राफ मधेस प्रदेशका पूर्व अध्यक्ष पनि हुन् । साथै उनी नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय प्रस्तावित उपाध्यक्ष पनि हुन् । उनी हाल ६० किलो सुन तस्करी प्रकरणमा थुनामा छन् । सुन तस्करी प्रकरणसँगै अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबारमा पनि उनको नाम जोडिएको छ । 

थुनामा रहेका शिवकुमार सर्राफसहित १० जनालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न ११ असोजमा आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरूको निवेदनमा न्यायाधीशद्वय श्रेष्ठ र ढुङ्गानाको इजलासले धरौटीमा छोड्न आदेश दिएका हो । सर्वोच्चको पेसी सूचीको कैफियतमा अभियुक्तहरूको तल्ला तहका ‘आदेश बदर, धरौटी माग गर्ने’ जनाउ गरिएको छ । 

६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०८० असोज १ गते मुद्दा दायर गरेको थियो । चिनियाँ मूलका नागरिक दावाजिन वाङलाई मुख्य अभियुक्त बनाइएको मुद्दामा २९ जनालाई विपक्षी बनाइएको थियो । उनीहरूविरुद्ध सङ्गठित अपराधसहित पाँच वटा अभियोग लगाइएको छ ।

करिब तीन अर्ब ५० करोड ३१ लाख रुपैयाँ बिगो, कैद र जरिवाना माग दाबी गरिएको छ । उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको उक्त मुद्दा जिल्ला अदालत काठमाडौँमा छ । धरौटी सुविधा पाउने अभियुक्तहरूमा कुमार ढकाल, हर्कराज राई, रामकुमार भुजेल, सरोज श्रेष्ठ, दिलीप भुजेल, राजेन्द्रकुमार राई, सन्तोष चन्द, टाँसी भन्ने थुप्तिन छिरिङ र शिवकुमार सर्राफ रहेका छन् ।

धरौटी बापतको रकम सङ्कलनका लागि यति बेला सुनचाँदी व्यवसायी सङ्घले चन्दा सङ्कलन गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ मधेस प्रदेशका महासचिव अनिल कुमार सर्राफले शिव कुमार सर्राफलाई छुटाउन चन्दा सङ्कलन गरिरहेको स्वीकार गरे । यात्रा डेलीसँग टेलिफोन संवाद गर्दै सर्राफले भने, ‘अदालतबाट धरौटीमा छोड्न आदेश आएसँगै हामी सबै मिलेर उहाँको धरौटीबापतको रकम सङ्कलनमा लागेका हौँ ।’ 

शिव कुमार सर्राफले बजारबाट धेरै जना सुनचाँदी व्यवसायीलाई सुन दिलाइदिन्छु भन्दै रकम उठाएको एक जना व्यवसायीले नै खुलासा गरे । तस्करीको सुन त्रिभुवन विमानस्थलबाट बरामद हुनु अघि नै शिवकुमार सर्राफले सुन दिलाइदिने भन्दै रकम उठाएको पाइएको हो ।

Back to top