×

वीरगञ्ज। विश्वप्रसिद्ध इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले दशैंको अवसरमा वीरगञ्जसहित देशभर एकै दिन १३२ युनिट इलेक्ट्रिक सवारी साधन डेलिभरी गरेको छ। घटस्थापनाको अवसरमा गरिएको यस डेलिभरीले बीवाईडीको विद्युतीय गाडीप्रतिको नेपाली ग्राहकहरूको विश्वासलाई थप सुदृढ बनाएको छ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर आफ्नो डिलर नेटवर्क मार्फत यो उपलब्धि हासिल गरेको हो। बीवाईडीले पछिल्लो समय वीरगञ्जमा आफ्नो शोरुम विस्तार गर्दै विद्युतीय सवारी साधनमा स्थानीय ग्राहकहरूको आकर्षणलाई अझै बलियो बनाएको छ।

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले एकै दिन १३२ युनिट ईभी डेलिभरी गर्न पाउनु कम्पनीको लागि गर्वको दिन भएको बताएका छन्। उनले भने, "यो डेलिभरीले वीरगञ्जसहित देशभर बीवाईडीका सवारी साधनप्रतिको विश्वास बढ्दो क्रममा रहेको स्पष्ट संकेत गर्छ। नेपाली ग्राहकहरूले विद्युतीय सवारी साधनलाई जसरी अपनाइरहनुभएको छ, त्यसले हाम्रो सफलताको आधार तय गरेको छ।"

वीरगञ्ज जस्ता प्रमुख सहरहरूमा बीवाईडीको बजार उपस्थिति तीव्र रूपमा बढ्दैछ। कम्पनीले विद्युतीय सवारी साधनमा उत्कृष्ट प्रविधि, कार्यक्षमता र दिगो समाधान उपलब्ध गराउँदै स्थानीय बजारमा आफ्नो नेतृत्वस्थल कायम राख्न सफल भएको छ। बीवाईडीले नेपालभर शोरुम विस्तार गरेर विद्युतीय गाडीहरूमा नेपाली ग्राहकहरूको आकर्षणलाई अझै बलियो बनाएको छ, जसमा वीरगञ्जको भूमिका उल्लेखनीय छ।

स्थानीय व्यवसायीहरूले बीवाईडीको विद्युतीय सवारी साधनप्रतिको माग दिनानुदिन बढिरहेको जनाउँदै, यसको हरित र वातावरणमैत्री विशेषताले वीरगञ्ज क्षेत्रको वातावरणीय सुधारमा पनि सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

बीवाईडीको यो उपलब्धिले वीरगञ्जसहित नेपालभर विद्युतीय सवारी साधनप्रतिको विश्वास र मागलाई नयाँ उचाइमा पुर्‍याएको छ, जसले दिगो र हरित यातायातका लागि देशभर सकारात्मक संकेत दिएको छ।

Back to top