×

बंगलादेशमा यस वर्ष चट्याङमा परी झन्डै ३०० जनाको ज्यान गएको छ। मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान छन्।

यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको मृत्यु भएको छ।

‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम (एसएसटीएफ)’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी चट्याङबाट मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो।

सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिस रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका बेला चट्याङ लागेको बताइएको छ।

एसएसटीएफले राष्ट्रिय दैनिक, स्थानीय दैनिक पत्रपत्रिका, अनलाइन न्युज पोर्टल र टेलिभिजन च्यानलहरूबाट चट्याङबाट मृत्यु हुनेको तथ्यांक संकलन गरेको जनाएको छ।

Back to top