×

रौतहट। असोज १२ गते आएको बागमती नदीको बाढीले प्रभावित रौतहटको माधवनारायण नगरपालिका-९ लौकाहा र फुलवरियाका तीन सयभन्दा बढी परिवारलाई शनिबार राहत सामग्री वितरण गरिएको छ। माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले राहत सामग्री वितरण गर्दै बाढी प्रभावित नागरिकहरूको तत्कालका लागि आवश्यक खाद्य सामग्री सहयोगस्वरूप प्रदान गरेका हुन्।

बाढीले क्षतिग्रस्त भएका घरपरिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो तेल, नुन, चिनी, ३ किलो दाल, ५ किलो चिउरा लगायतका सामग्री वितरण गरिएको छ। राहत लिन बाढी प्रभावित नागरिकहरू चर्को घामको प्रवाह नगरी लामो समयसम्म लाइनमा बसेका थिए।

वडा अध्यक्ष दिलिप यादवका अनुसार लौकाहा र फुलवरियामा बाढीका कारण करिब ७२२ भन्दा बढी परिवार प्रभावित भएका छन्। पहिलो चरणमा तीन सय परिवारलाई राहत वितरण गरिएको र बाँकी ५ सय परिवारलाई दोस्रो चरणमा चाँडै राहत उपलब्ध गराइने उनले बताए।

उक्त राहत सामग्री ग्रामीण विकास केन्द्र नेपाल (RDC) र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा वितरण गरिएको हो। मेयर यादवका अनुसार वडा नम्बर ६ माधोपुर, वडा नम्बर ७ लौकाहा, र वडा नम्बर ८ खडकी रजवडामा पनि राहत सामग्री वितरण गरिनेछ। तीनवटा वडामा करिब ३ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।

बाढीका कारण नगरपालिकाका तीन वडामा ठूलो जनधनको क्षति पुगेको छ। हजारौं हेक्टर खेतबारीमा लगाइएको धान, उखु, र तरकारी बालीनाली बाढीले नष्ट गरेको छ भने माछापालन गर्ने पोखरीहरूमा पनि ठूलो क्षति पुगेको छ। मेयर यादवका अनुसार राहत वितरणको दोस्रो चरणमा थप सहयोग उपलब्ध गराउने योजना बनाइरहेको छ।

बाढीबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको बताउँदै, मेयर यादवले पूर्ण विवरण प्राप्त भएपछि प्रभावित परिवारहरूलाई थप राहत प्रदान गरिने जानकारी दिएका छन्।

Back to top