×

रौतहट। रौतहटको यमुनामाई गाउँपालिका - ४ मा २४ घण्टे रिले अनशन १० दिनदेखि जारी रहेको छ । नेपाली काँग्रेसको अगुवाइमा स्थानीय बासिन्दाहरूले वडा कार्यालय सार्न माग राख्दै यो अनशन सुरु गरेका हुन् ।

वडा अध्यक्ष अश्वनी कुमार यादव (चेतन यादव) ले आफ्नै गोठमा वडा कार्यालय सञ्चालन गर्दै आएको र सेवाग्राहीहरूसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै, स्थानीयहरूले कार्यालयलाई सार्वजनिक स्थानमा सार्नुपर्ने माग राखेका छन् ।

अनशन समितिका संयोजक श्रीराम राय यादवले भने, "वडाध्यक्षले सेवाग्राहीहरूसँग गरेको असभ्य व्यवहार र धम्कीपूर्ण क्रियाकलापको विरोधमा हामीले पटक-पटक गाउँपालिका अध्यक्ष र स्थानीय प्रशासनलाई जानकारी गराउँदा पनि कुनै समाधान नआएपछि अनशनमा बस्न बाध्य भयौँ ।"

नेपाली काँग्रेस वडा समिति र अनशनमा सहभागीले वडाध्यक्ष यादवको कार्यशैलीलाई स्वतन्त्र र निष्पक्ष कामकाजमा बाधा पुर्‍याउने भन्दै कार्यालय सार्न अडान लिएका छन् । अनशनकारीहरूले वडा कार्यालयलाई साबिकको स्थानमा फर्काउन आग्रह गर्दै, बाढी र प्रतिकूल मौसमको वास्ता नगरी अनशनमा बसेका छन् ।

आन्दोलन समितिका संयोजक यादवले भने, "भोलि बिहान १० बजे गाउँपालिकाको कार्यालयमा ताला लगाउने छौँ । यस क्रममा हुने कुनै पनि घटनाको जिम्मेवारी गाउँपालिका, वडाध्यक्ष र स्थानीय प्रशासनले लिनुपर्नेछ ।"

वडाध्यक्ष यादवको कार्यशैली र गाउँपालिकाको ढिलासुस्तीको विरोधमा उनीहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई समेत गुहार्दा कुनै ठोस कदम नचालिएको भन्दै निराशा व्यक्त गरेका छन् ।

यो अनशनले जनताको सेवामा बाधा पुर्‍याएको भन्दै, अनशनकारीहरूले वडा कार्यालय सार्न माग पुरा नभएसम्म सङ्घर्ष जारी राख्ने चेतावनी दिएका छन्।

Back to top